Logo

‘ओलीजी नहुँदापनि देश चल्छ’ : विडारी



काठमाडौं, २१ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण विडारीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहालले अविश्वासको प्रस्ताव ल्याउन लागेको छ भन्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पत्रकार धमलाले तपाईहरु हिजो प्रचण्डकहाँ पुग्नुभएको थियो, प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्डले अविश्वाको प्रस्ता ल्याउँदैहुनुहुन्छ अरे ? पार्टी फुटाउन लाग्नुभएको छ भन्ने हल्ला छ नि ? भनेर सोधेको प्रश्नमा विडारीले भने–‘कसले भन्या ? केपी शर्मा ओलीले कार्यकारी अध्यक्षलाई भनेको भए त मलाई थाहा हुने कुरा भएन, तर मैले अविश्वासको कुरा पनि सुनेको छैन् । उहाँलाई कुनै प्रकारको राजीनामा पनि मागेको छैन् । पार्टी फुटाउने कुरा पनि छैन् ।’

उनले केपी ओलीले जे भन्यो त्यही पार्टीभित्र नहुने पनि जिकिर गरे । उनले भने,‘उहाँ त पार्टीबाट प्रधानमन्त्री भएको हो नि । प्रधानमन्त्रीले गरेको कामको जस र अपजस पार्टीलाई आउँछ । दलीय व्यवस्थामा पार्टीभन्दा माथि प्रधानमन्त्री हुँदैन्।’ उनले वर्तमान प्रधानमन्त्री ओली नहुँदापनि देश चल्ने बताए । उनले भने,‘उहाँले म राजीनामा दिन्न, मैले राजीनामा दिएँ भने देश बर्बादितिर जान्छ भनेको पनि मैले सुनें । त्यो पनि त्यस्तो कुरा हुँदैन् । कसैले राजीनामा दिँदा देश डुब्ने, कसैले राजीनामा दिँदा देश उठ्ने, त्यसो हुँदैन नि । मैले राजीनामा दिँदा देश बर्बादितिर जान्छ भन्ने उहाँलाई त्यस्तो लाग्यो होला, कसैले राजीनामा दिएर पनि देश बर्बादितिर जाँदैन् । विपीले राजीनामा दिएर पनि बर्बाद भएन, विपी नहुँदापनि देश चल्यो, राणा नहुँदापनि देश चल्यो, राजतन्त्र नहुँदापनि देश चल्यो, हिजो त राजतन्त्र नभई देशै चल्दैन भन्थे, प्रचण्ड नहुँदापनि देश चल्छ, ओलीजी नहुँदापनि देश चल्छ । त्यस्तोरि बुझ्नपर्यो नेताले । शक्तिमा हुने व्यक्तिले जे पायो, त्यही बोल्नुहुन्छ ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot