Logo

बीस वर्षपछि बन्यो प्रहरीको आफ्नै भवन



त्रिशूली, २६ कात्तिक: सशस्त्र युद्ध र विनाशकारी भूकम्पले क्षति पुगेका प्रहरी एकाइको पुनःनिर्माणअन्तर्गत बेलकोटगढी नगरपालिका–६ मा अवस्थित प्रहरी चौकी झिल्टुङको नयाँ भवन निर्माण भएको छ ।तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वको समयमा चौकी छाडेर प्रहरी जिल्लामा केन्द्रित भएपछि खाली भवनमा बम प्रहारबाट क्षति पुगेको २० वर्षपछि आफ्नै भवन बनेको छ । नयाँ भवनको मङ्गलबार वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गर्दै प्रदेश मातहतका प्रहरी युनिटमा पर्याप्त दरबन्दी, आवश्यक भौतिक संरचना र समयसान्दर्भिक तालिमको प्रबन्धमा कुनै कमी हुन नदिने बताए ।

वाग्मती प्रहरी प्रमुख वसन्तकुमार लामाले सशस्त्र युद्ध र विनाशकारी भूकम्पले क्षति पुगेका भौतिक संरचना पुनःनिर्माण अन्तिम चरणमा पुगेको र प्रदेशभित्रका सबै स्थानीय तहमा प्रहरी एकाइ स्थापना गरिएको बताउनुभयो । वाग्मती प्रदेशमार्फत प्राप्त रु एक करोड ८७ लाख लगानीमा निर्माण गरिएको प्रहरी चौकी महिलामैत्री, अपाङ्तामैत्रीसहितको कार्यालय र ब्यारेक भवन रहेको जिल्ला प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) तुलबहादुर कार्कीले जानकारी दिए । उनको अनुसार भवनमा प्रहरी युनिटको लागि आवश्यक कार्यकक्षसहित बहुविपद् प्रतिरोधी भवनमा विभिन्न नौवटा कोठा रहेका छन् ।

प्रहरी चौकी झिल्टुङ स्थापनाको समयमा साविक दुईपिपल गाविसको मुकाम रहेको स्थान डबलीमा भए पनि चौकीमा क्षति पुगेपछि पुनःस्थापनाको क्रममा स्थानन्तरण गरेर घ्याम्पेस्थित भाडाको घरबाट सञ्चालन गर्दै सोही स्थानमा नयाँ भवन बनाइएको हो । नयाँ भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने बेलकोटगढी नगरपालिका–६का गोपीप्रसाद घिमिरे र उत्तरकुमार घिमिरेलाई प्रंशसापत्रले सम्मान गरिएको छ । सशस्त्र युद्धको समयमा क्षति पुगेका प्रहरी युनिटको पुनःनिर्माणअन्तर्गत किम्ताङ प्रहरी चौकीको पनि निर्माण सम्पन्न भएकाले आज उद्घाटन गर्न लागिएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot