Logo

दोहा एयरपोर्टको शौचालयमा शिशु जन्माएर फरार महिलाको पहिचान



एजेन्सी, ९ मंसिर । गत महिना कतारको दोहा एयरपोर्टको शौचालयमा नवजात शिशु बेवारिसी अवस्थामा फेला परे । २ अक्टोबरमा अज्ञात महिलाले बच्चा जन्माएर छाडेपछि सुरक्षाकर्मीले उनको खोजी गर्न थाल्यो । त्यस क्रममा धेरै महिलामाथि कडा चेकजाँच भयो । कडा शारीरिक चेकजाँच हुनथालेपछि यात्रुहरु आत्तिए । विमान अपहरण भएको आशंका गरे ।

कतिपय देशका महिलाले आफूमाथि भएको चेकजाँचको विरोध गरे । यतिसम्मकी अष्ट्रेलिया, बेलात र न्युजिल्यान्डका यात्रुमाथि अभद्र व्यवहार भएको भन्दै त्यस देशको सरकार नै बोल्यो । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले उक्त घटना स्वीकार्य नहुने प्रतिक्रिया दिएका थिए । तर, कतार सरकारले शिशु जन्माएर फाल्नेको खोजी गर्नुपर्ने भएको भन्दै चेकजाँचको बचाऊ गरेको थियो । कतारका प्रधानमन्त्री शेख खालिद विन थानीले केही प्रक्रिया उल्लंघन भएको भन्दै माफी समेत मागेका थिए ।

कतार सरकारले एक महिनापछि बच्चालाई जन्म दिएर फाल्ने महिलाको पहिचान भएको जनाएको छ । ती महिला एशियाली भएको उल्लेख छ । तर, देश खुलाइएको छैन । बच्चाका बाबु पनि पत्ता लागेका छन् । उनी फरक देशका एशियाली नागरिक नै भएको डिएनए जाँचबाट पत्ता लागेको उल्लेख छ ।

शिशु जन्माएर छाड्ने महिला र बच्चाको बाबु दुवैलाई सुपुर्दुगी गर्ने प्रक्रिया थालिएको जनाइएको छ । अब उनीहरुमाथि कतारको कानुन अनुसार कारबाही हुनेछ । महिलामाथि १५ वर्षसम्मको जेल सजाय हुनसक्छ ।

घटनामा महिलाले बच्चालाई एयरपोर्टमै जन्म दिएर छाडेको जानकारी सम्बन्ध राखेको पुरुषलाई गराएकी थिइन् । उनले तस्वीर समेत पठाएकी थिइन् । आफू त्यसपछि आफ्नो देशमा पुगेको समेत जानकारी गराइन् ।

बच्चाको बाबु अहिले पनि कतारमै रहेको पत्ता लागेको थियो । अनुसन्धानकर्ताहरुले यही सूचनाका आधारमा महिलाबारे समेत पत्ता लगाएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot