काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिदै जाँदा भारतीय मिडियाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनको साथ रहेको खबर प्रकाशित गरेको छ । नेपालस्थित चिनियाँ राजदूतमार्फत् त्यस्तो साथ मिलिरहेको भनिएको छ ।
टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले ओलीविरुद्ध पार्टीभित्र ठुलो विद्रोह भइरहँदा चिनियाँ राजदूत हाउ यान्छीले खुलेआम सहयोग गरेको भनेको छ । प्रचण्ड नेतृत्वमा पार्टीभित्र ठुलो विद्रोह हुँदा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ओलीलाई खुलेआम बलियो सहयोग गरेकी थिइन्, टाइम्स अफ इन्डियाले लेखेको छ ।
आइतबार चिनियाँ विदेशमन्त्री वीइ फेङघे आइतबारबाट नेपाल भ्रमणमा आउन लाग्दा भारतभित्र समेत चासो बढेको छ । वीइले एक दिने भ्रमणमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेट्ने कार्यक्रम छ । भारतीय विदेशसचिव हर्षवर्धन श्रींगला नेपाल भ्रमण गरेर फर्किएको दुई दिनपछि चिनियाँ रक्षामन्त्री वीइ नेपाल आउन लागेका हुन् ।
वीइको भ्रमण नेकपा विवाद उत्कर्षमा पुग्न लाग्दा हुनलागेको छ । विगतमा दुईपटक विवाद मिलाउन चिनियाँ पक्ष संलग्न भएको चर्चा चल्यो । यसपटक पनि चिनियाँ सक्रियता नेकपाको आन्तरिक राजनीति मिलाउन केन्द्रित देखिदैछ ।