Logo

गणतन्त्रको रक्षा गर्न एक भएर लाग्ने निर्णय



काठमाडौं, मंसिर २४ । राजतन्त्रको पक्षमा देशका विभिन्न ठाउँमा जुलुस निस्किने क्रम बढेपछि सरकारले आयोजना गरेको सर्वदलीय बैठकमा राजनीतिक दलहरुले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकताबद्ध लाग्ने निष्कर्ष निकालेका छन् ।

राजावादीहरुले दैनिकरुपमा मुख्य शहरमा जुलुस निकाल्ने क्रमसँगै सरकारको आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका हुन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले ओलीले जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एक जुट हुन आह्वान गरेका छन् ।

संघीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रि«य दलहरुको सर्वदलीय बैठकले पछिल्ला दिनमा प्रतिगमनका नाममा भएका संविधान विरोधी र हिंसात्मक गतिविधि सह्य नहुने निष्कर्ष निकालेको छ ।

सर्वदलीय बैठकमा कोरोनाविरुद्धको रोकथाम, लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, संविधान विरोधी गतिविधिलगायतका विषयमा प्रधानमन्त्री ओलीले राजनीतिक दलहरुसँग छलफल गरेका थिए ।
कोरोना रोकथाम र नियन्त्रणमा सरकारले गर्दै आएको कामका बारेमा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सरकारले सम्पूर्ण शक्ति लगाएर काम गरिरहेको बताएका छन् । करिब ३ घण्टा गरिएको छलफलमा कोभिड १९ महामारीबीच सरकारले जनताको जीवन रक्षाका लागि काम गरिरहेको ओलीले जानकारी गराए ।

बैठकमा सहभागी नेताहरुले प्रधानमन्त्री ओलीलाई संविधानबाट प्राप्त उपलब्धिको रक्षाका लागि देश, जनता, विकास र स्थिरताका पक्षमा राख्नुभएको अडानबाट बिचलित नहुन आग्रह गर्दै जस्तो सुकै सहयोगका लागि पनि सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

सर्वदलीय बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न दलका प्रतिनिधिहरुको सहभागिता रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot