Logo

सडक पुगेसँगै व्यवसायी उत्साहित



बनेपा, २४ मंसिर । पेशाले शिक्षक राजकुमार थापा मगर एउटा सफल कृषकसमेत हुनुहुन्छ । जिल्लाका विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–५ चारकिल्लाका उहाँले नियमितरुपमा गर्दै आएको मकै, तोरीलगायतका खेतीबाहेक अन्य फलफूल र नगदे बालीको खेती गरेर आम्दानी गर्दै आएका छन् । उनी विद्यालय समयबाहेक बिहान र बेलुका कृषि कार्यमा लागेर आम्दानी गर्दै आएका छन् ।

उनले नियमितरुपमा गर्दै आएको खेतीबाहेक ५०० बोट कफी खेती गरेका छन्। यसपालि मात्रै अहिलेसम्ममा खसीबोकाबाट एक लाख आम्दानी गरेको उनले बताए । “गत वर्ष खसीबोका बेचेर मात्रै एक लाख ५३ हजार लिएको थिएँ”, उनले भने, “यसपालि अलि घट्लाजस्तो छ ।” अर्को नगदेबाली अलैँचीको भनेजस्तो मूल्य नपाएका कारण सबै बेच्न नपाएको उनले बताए ।

धनकुटा र इलाममा खेतीसम्बन्धी अवलोकन भ्रमणमा गएर फर्केपछि आफूले खेती थालनी गरेको उनले बताए । पहिला हिँडेर विपी राजमार्गको कटुञ्जे चौकीडाँडासम्म गाडी चढ्न पुग्नपर्ने बाध्यता हटेर गाउँमा नै मोटरबाटो पुगेसँगै दैनिकरुपमा यातायातको साधन चलेसँगै व्यवसाय गर्न सहज भएको उनले बताए ।

कफीबाट पनि उहाँले पहिलोपटक आम्दानी लिन शुरु गरेको छ । यस वर्ष रु १६ हजारको बिक्री गरेको उहाँले बताउनुभयो । कफी र अलँैचीको नर्सरीसमेत राख्न शुरु गरेका उनले बिरुवा बेच्ने तयारीमा रहेको बताए। बाख्रापालनका लागि किम्बु र डालेघाँसको खेतीसमेत गरेका छन् । उनले बारी छेउछाउमा करीब ३०÷३० बोट एभोकाडो बोटसमेत रोपेका छन् ।

गाउँकै ग्रामोन्नति माध्यमिक विद्यालयमा २४ वर्षसम्म शिक्षण पेशा गरिसक्नुभएका उहाँ नमूना कृषक बन्ने सोचका साथ कृषि क्षेत्रमा लागेका छन् । तरकारी र फलफूल खेतीसम्बन्धी पुस्तकहरु अध्ययन गरी व्यावसायिक रुपमा कृषिमा लागेको उनले बताए। जिल्लाको डाँडापारि क्षेत्रमा गाडीको सुविधा पुगेपछि किसानले विभिन्न किसिमका खेती र व्यवसाय गरेर आम्दानी गर्न थालेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot