काठमाडौं, १३ पौष । गृह मन्त्रालयले नेपाल प्रहरीका नौ जना एसएसपीलाई डिआइजी बढुवाका लागि सिफारिस गरेको छ । आज बढुवा समितिको बैठकको निर्णय अनुसार बढुवा सिफारिश गरेको हो ।
बढुवा सिफारिश भएकामध्ये पहिलो नम्बरमा गणेशबहादुर ऐर छन् । दोस्रो नम्बरमा पुरुषोत्तम कँडेल छन् ।
बढुवामा पर्नेहरुमा राजेशकुमार लाल कर्ण, डा. देवबहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य छन् ।
बढुवामा परेकाहरु आइजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् । दिवेश लोहनी सुनकाण्डमा परेर बढुवामा पछि परेका हुन् ।
यसअघि आइजीपी क्षेत्रीभन्दा जुनियर विश्वराज पोखरेल एआइजी बढुवामा परिसकेका छन् ।