Logo

कर्पोरेट पेबाटै २० करोडसम्मको भुक्तानी



काठमाडौं, माघ ६ । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकहरुलाई लक्षित गर्दै कर्पोरेट पे प्रणाली सञ्चालनमा ल्याएको छ । यससँगै संस्थागत तथा कर्पोरेट ग्राहकले ‘कर्पोरेट पे’ मार्फत अनलाइन भुक्तानी गर्न सक्ने भएका छन् ।

एनसीएचएलका अध्यक्ष समेत रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्यले चेक बोकेर बैंकसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न कर्पोरेट पे सञ्चालनमा ल्याइएको बताए । ‘वालेट र कनेक्ट आईपीएसको प्रयोग बढेपनि चेक बोकेर बैंक काउन्टरमा पुग्नुपर्ने वाध्यता आज पनि छ,’ उनले भने, ‘त्यही बाध्यता अन्त्य गर्न कर्पोरेट पे उपलब्ध गराइएको हो ।’

शाक्यका अनुसार व्यावसायिक ग्राहकहरुले कर्पोरेट पेबाट कारोबार गर्न मिल्ने गरी एनसीएचएलमा बैंक तथा वित्तीय संस्थाका लागि थप च्यालनको रुपमा कर्पोरेट पे उपलब्ध गराइएको छ ।

जसअन्तर्गत बैंक तथा वित्तीय संस्थाले व्यावसायिक ग्राहकलाई कर्पोरेट पेमा आवद्ध गराएर विभिन्न किसिमका भुक्तानी विद्युतीय माध्यमबाट गर्न सक्नेछन् । साथै कारोबारको राफसाफ समेत एनसीएचएल आईपीएस तथा कनेक्ट आईपीएसबाट हुने व्यवस्था मिलाइएको छ ।

एनसीएचएलका अनुसार गत आवमा ९ खर्ब ७० अर्ब रुपैयाँ बराबरको तथा चालु आवको ६ महिनामा ५ खर्ब ७ अर्ब रुपैयाँ बराबरको हिसाब किताब राफसाफ गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot