Logo

२०४७ सालको संविधान पुनःस्थापनाको माग गर्दै देशभक्त प्रजातान्त्रिक गठबन्धनले माघ ११ गते माइतीघर मण्डलामा बृहत प्रदर्शन गर्ने



काठमाडौं, ८ माघ । देशभक्त प्रजातान्त्रिक गठबन्धनले २०४७ सालको संविधान पुर्नस्थापनाको माग गर्दै माघ ११ गते ११ बजे माइतीघर मण्डलामा बृहत जनप्रदर्शन गर्ने भएको छ । बिहीबार रिपोर्टस् क्लब नेपालमा यसबारे जानकारी गराइएको छ । गठबन्धनले आम जनतालाई राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाको निमित्त एकतावद्ध भई जनप्रदर्शनमा सहभागी हुन आह्वान गरेको हो ।

देशभक्त प्रजातान्त्रिक गठबन्धनका प्रमुख संयोजक शोभाराम थापाले अहिले देश जटिल संकटमा परेको भन्दै बचाउनका लागि २०४७ सालको संविधान पुनःस्थापनाका विकल्प नभएको तर्क गरे । उनले संवैधानिक राजसंस्थासहितको संविधान पुनःस्थापनाका लागि सबै एकजुट भई आन्दोलनमा आउनुपर्ने बेला भएको बताए । थापाले भने, ‘२०४७ सालको संविधान पुनः स्थापना गर्नुपर्छ, त्यसले सबै जना एक ठाउँमा उभिन जरुरी छ ।’ थापाले दोस्रो चरणको आन्दोलनको फागुन महिना देखि गर्ने पनि जानकारी दिए ।

सनातन सस्कृती समाज नेपाल सह–अध्यक्ष तारानाथ लुईटेलले यो संविधान असफल भइसकेको बताए । उनले २०४७ सालको संविधान पुनः स्थापना गर्नु पर्नेमा जोड दिए । लुईटेलले भने, ‘गणतन्त्र आर्यघाटमा पुगी सकेको छ । जनताको अन्तिम सत्र भनेको २०४७ सालको संविधान हो ।’ उनले सनातन हिन्दु राष्ट्र भएन भने यो देश संकट घडीमा जाने विश्वास व्यक्त गरे । अब मोर्चाबन्दी बाट अगाडि बढेर सडक आन्दोलनमा जान सबैलाई आग्रह गरे ।

संयुक्त आन्दोलन परिचालन समितिका संयोजक विक्रम बहादुर बंमले मुलुक विषम परिस्थितिमा रहेको तर अहिले सिंहका गिद्द झै पदको लागि दौडिरहेका आरोप लगाए । उनले अहिलेको सरकारले जनताको भावना बुझ्न नसकेको उल्लेख गरे । उनले भने, ‘वर्तमान सरकार फेल भैसकेको छ ।’ मुलुकको अन्तिम विकल्प भनेको राजसंस्था हो भन्दै उनले २०४७ सालको संविधानलाई पुनः स्थापना गर्नमा जोड दिए ।

नेवार एकता समाज समिती अध्यक्ष राजु व्यन्जनकारले ९ दलिय गठबन्धन गर्नुको उद्देश्य २०४७ सालको संविधान पुन स्थापना गर्न भएको बताए । उनले राजसंस्था पुनः स्थापना गर्नका लागि काठमाडौ भक्तपुर ललितपुरका नेवारवासीहरु एक भएर आन्दोलनमा आउने जानकारी दिए ।

राप्रपा नेपालका प्रबक्ता तेजराज भुजेलले युवाहरुको एक मात्र पार्टी राप्रपा नेपाल भएको बताए । २०४७ सालको संविधानमा कुठाराघात गरेको भन्दै गणतन्त्रको माग जनताले नराखेको जिकिर गरे ।

हाम्रो नेपाल पार्टीका संयोजक भैरवबहादुर कार्कीले अब देश जोगाउन २०४७ सालको संविधान पुनःस्थापना गरेर अगाडि बढ्नुको विकल्प नभएको बताए । उनले अहिलेको संविधान असफल सावित भइसकेको बताए ।

गठबन्धनकी नेता शोभा तिमिल्सिना खड्काले अहिलेको सरकार निरंकुश भएको बताइन् । उनले भनिन्, ‘राष्ट्रियता बचाउ र राष्ट्रबादी हो भने एक ठाउामा उभिन जरुरी छ ।’ उनले राजसंस्था निरंकुश हो कि अहिलेको सरकार निरंकुश हो सबै जनताले थाहा पाईसकेको बताउँदै २०४७ सालको संविधान पुनःस्थापनाले देशले निकास पाउने बताइन् ।

सात गठबन्धनमा आबद्ध भएका दलहरु जनता पार्टी नेपाल, राष्ट्रिय शिवसेना नेपाल, हाम्रो नेपाल पार्टी, सनातनी समाज, राष्ट्रवादी पार्टी, जय देशभक्त पार्टी, रा.प्र.पा नेपाल, ऊँ सेना पार्टी रहेका छन् । देशभक्त प्रजातान्त्रिक गठबन्धनका संयोजक घनश्याम भण्डारी, समाजसेवी तथा राष्ट्रवादी आन्दोलनका अभियन्ता रामकृष्ण अधिकारी लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot