Logo

उपकरण छिटो आपूर्ति गर्न माथिल्लो तामाकोशी आयोजनाको दबाब



काठमाडौं, माघ ९। पटकपटक निर्माणको भाका सार्दै आएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले उपकरण र सामग्री आपूर्तिको जिम्मा लिएको ठेकेदार कम्पनीलाई ताकेता बढाएको छ । उपकरण आउन ढिला हुँदा आयोजना निर्माणको समय लम्बिन लागेपछि आयोजनाले निर्माण उपकरण आपूर्तिको जिम्मा लिएको भारतीय कम्पनीमाथि दबाब बढाएको हो ।

भारतको कोलकातास्थित टेक्सम्याको रेल एण्ड इन्जिनियरिङ लिमिटेडले आयोजनाका लागि पेनस्टक पाइप, हाइड्रोमेकानिकल इक्वीपमेन्ट, पावर जेनेरेटर लगायतको आपूर्तिको ठेक्का लिएको थियो । आपूर्तिकर्ताले समयमा ती उपकरण उपलब्ध नगराउँदा निर्धारित समयमा विद्युत् उत्पादन गर्न नसकिएको आयोजनाका अधिकारीहरूले बताएका छन् ।

टेक्सम्याकोले ३ अर्ब रुपैयाँमा ठेक्का सकारेकोमा कोरोना महामारीका कारण आपूर्ति गर्न नसकिएको बताएको छ । आयोजनाले पछिल्लो पटक यही पुसभित्र निर्माण सकेर माघदेखि परीक्षण उत्पादन र वैशाखदेखि व्यावसायिक उत्पादन थाल्ने लक्ष्य राखेको थियो ।

अहिले प्राविधिकहरूको टोली आपूर्तिकर्ता कम्पनी टेक्सम्याकोको कोलकातास्थित मुख्यालयमै पुगेको छ । आयोजनाबाट दुईजना इन्जिनियरसहितको टोलीले टेक्सम्याकोको कार्यालयमै गएर शर्तअनुसारका उपकरण उपलब्ध गराउन सहजीकरण गरिरहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । प्राविधिकहरू करीब ४ महीनादेखि कोलकातामै छन् ।

कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले टेक्सम्याकोलाई उपकरण र सामग्री चाँडो उपलब्ध गराउन दबाब दिएको छ । आयोजनाले सहजीकरणका लागि आग्रह गरेपछि टेक्सम्याकोको कार्यालयमा पुगेर शर्तअनुसार काम अघि बढाउन भनिएको महावाणिज्यदूत ईश्वरराज पौडेलले जानकारी दिए । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot