Logo

कालीगण्डकी करिडोरः बागलुङ खण्डको निर्माण अन्तिम चरणमा



बागलुङ, माघ १० । छिमेकी मुलुक चीन र भारत जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको सडक आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड निर्माणको अन्तिम चरणमा पुगेको छ ।

यो करिडोरको बागलुङ खण्डमा ३४ किलोमिटर सडक पर्छ । २०७० सालदेखि नेपाली सेनाले बागलुङ–गुल्मी खण्डमा सडक निर्माण तथा विस्तारको काम गर्दै आएको छ । करिडोरको गुल्मी खण्डमा ४१ किलोमिटर सडक पर्छ । बागलुङ खण्डको डाँडाकाल भीर, दुसाभीर, कालुङखोला भीरमा पहरो कटानको काम भइरहेको नेपाली सेना कालीगण्डकी करिडोर सडक निर्माण कार्यदलका प्राविधिक सहसेनानी शालिकराम नेपालले जानकारी दिए।

नेपाली सेनाले गत वर्ष पुस १ गते बागलुङ खण्डको मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक कालीगण्डकी करिडोर सडक आयोजनालाई हस्तान्तरण गरेको थियो । बाँकी २४ किलोमिटर सडक विस्तार अन्तिम चरणमा पुगेको प्राविधिक सहसेनानी नेपालको भनाइ छ । दुई खण्डमा काम गर्न सरकारले चालू आर्थिक वर्ष २०७७/७८ मा १८ करोड २५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

“हस्तान्तरण गर्न बाँकी खण्डको करिब पाँच किलोमिटर सडक १० मिटर चौडा बनाउने काम अन्तिम चरणमा छ”, उनले भने, “पाँच महिनाभित्र हस्तान्तरण गर्दै छौँ ।’’ गुल्मीतर्फको खण्डमा २७ किलोमिटर हस्तान्तरण भइसकेको छ । बाँकी १३ किलोमिटर अन्तिम चरणमा पुगेको सहसेनानी नेपालको भनाइ छ ।

हस्तान्तरण भएको सडकखण्ड कालोपत्रेका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरण प्रभाव मूल्याङ्कनको काम सुरु गरेको कालीगण्डकी करिडोर गैँडाकोट राम्दी–मालढुङ्गा सडक आयोजनाका प्रमुख नवराज बास्तोलाले जानकारी दिए ।

उत्तर–दक्षिण जोड्न छोटो मार्ग पाएपछि छिमेकी भारत र चीनका पर्यटकले यही मार्ग प्रयोग गर्ने अपेक्षा गरिएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot