Logo

मोदीपथमा ओलीः पशुपतिनाथमा के संकल्प ?



समाचार विश्लेषण । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी योगी जस्तै देखिन्छन् । लामो कपाल र दाह्री धर्म संस्कृतिलाई बढी महत्व दिएर गर्ने भाषण मोदीको पहिचान हो । हिन्दुवादी पहिचान बोकेका मोदी भारतमा लोकप्रीय हुनुमा उनको राष्ट्रवादी पहिचान पनि कारण हो ।

मोदीले सन् २०१४ मा राष्ट्रवादको मुद्दालाई टेकेर भारतीय जनता पार्टीलाई शानदार जित दिलाए । दोस्रोपटक सन् २०१९ मा बहुमतका साथ चुनाव जित्दा धर्मको मुद्दालाई उठाएका थिए । विशेषगरी अयोध्यामा राम मन्दिर निर्माण मोदीको मुद्दा थियो । उनले पशुपतिनाथ र मुक्तिनाथको महत्वपूर्ण पूजा समेत गरे । यसबाट उनले हिन्दु समुदायबाट समर्थन बढाउन सके ।

जसरी मोदीले भारतमा पहिलो राष्ट्रवाद र पछि धर्मको मुद्दा उठाएर शक्तिशाली प्रधानमन्त्री बन्न सके त्यसरी नै नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवादको मुद्दा उठाएर शुरुमा प्रभाव बनाए । नाकाबन्दीको बखत उनले बलियो गरी अडान कसे । सीमाको विषयमा पनि उनी डगमग भएनन् । कालापानी क्षेत्रसहितको चुच्चो नक्शा जारी गर्न सके । ओलीको यो हिम्मतले उनलाई झन् शक्तिशाली बनायो ।

अब ओलीले मोदीकै शैलीमा धर्मको मुद्दा उठाउने सुरसार कसेका छन् । उनले माघको सोमबार पारेर पशुपतिमा संकल्प पूजा गरेर सन्देश दिन खोजेका छन् । अब ओलीले धर्मको मुद्दा उठाउने संकेत पनि गरेका छन् ।

ओलीका पछिल्लो अभिव्यक्तिहरुमा अध्यात्मिक विषयहरुले बढी स्थान पाउने गरेको छ । उनी ऋषिमुनी र योगीहरुका कुरा बढी गर्छन् । पूर्वीय दर्शनको व्याख्या गर्छन् ओली । यही शैलीको भाषण मोदीले गर्दै आएका छन् । उनी नेपालको संसदमा आएर भाषण गर्दा पनि ऋषिमुनी र पूर्वीय दर्शनको कुरा गरेर गएका थिए ।
पछिल्लो समय ओलीले कम्युनिस्ट दर्शनलाई आफ्नो भाषणमा उल्लेख गर्न छाडिसकेका छन् । न उसले माक्र्सको कुरा गर्छन् न त लेनिनको । उनी नास्तिकबाट आस्तिक भएको देखाउँदैछन् ।

देशभित्र धर्मको मुद्दामा जनलहर नै आउने अवस्था बनिरहँदा ओलीले त्यसैलाई पक्रन खोजेको देखिदैछ । केही समय अघि हिन्दु राष्ट्रको पक्षमा स्वतः स्फूर्त होस् या योजनावद्ध तरिकाले हजारौ लाखौं मानिसहरु सडकमा ओर्लिएका थिए । नागरिकको सेन्टिमेन्ट बुझेका ओलीले त्यसकारण पनि धर्मको अस्त्र फाल्न खोजेको देखिदैछ । उनी यही अस्त्रबाट विरोधीहरुलाई पराजित गर्न लागिपरेको देखिदैछन् ।

प्रतिनिधि सभा विघटनपछि शक्तिशाली नेताहरु देखि नागरिक अगुवाको ठुलो पंक्ति ओलीको विपक्षमा देखिएको छ । आफूविरुद्धको लहरलाई उल्टाउन पनि उनी धर्मको मुद्दामा केन्द्रित हुँदै गएका छन् । यो विषय उठाइहाल्न उनलाई सजिलो भने छ्रैन । राष्ट्रिय अन्तर्राष्ट्रिय दबाब पनि बढ्न सक्छ । तर, ओली शसक्त रुपमा यो मुद्दालाई लिएर धर्मनीरपेक्षताविरोधी ठुलो संख्याको समर्थन पाउन लागिपरेका छन् । उनले रणनीतिक रुपमा पनि यसलाई उठाउने तयारी गरेको देखिदैछ ।

ओलीले आध्यात्मिक विषयहरुको व्याख्या गर्ने देखि पछिल्लो समय संविधान नै संकटमा पार्ने गरी कदम चालेपछि प्रचण्डले आशंका व्यक्त गरिसकेका छन् । उनले ओलीमाथि धर्मनीरपेक्षतालाई समाप्त पार्न खोजेको टिप्पणी गरिसकेका छन् । ओलीको कदमले यो टिप्पणीलाई बल पुगेको छ । उनी धर्मनीरपेक्षताको विकल्प खोज्ने गरी धर्मको मुद्दा उठाएर अघि बढेमा आश्चर्य नमाने हुने भइसकेको छ । केपी ओली तिनै हुन् जो कुनैबेला आफूलाई नास्तिक भन्थे । अहिले उनी आस्तिक देखिएका छन् । पशुपतिनाथको संकल्प पूजा गरेर ओलीले भविष्यमा अझ कठोर कदम चाल्ने गरी बढ्ने सन्देश समेत दिएका छन् । ओलीले पशुपतिनाथमा महत्वपूर्ण संकल्प गरेका छन् । त्यो संकल्प अब कुनै ऐतिहासिक कदम चाल्ने हुनसक्छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot