Logo

भोगाइले अभियानकर्मी बनेका महिला



टिकापुर ५ फागुन । कैलालीको जानकी गाउँपालिका–८ की निर्मला विक ४० वर्षको भईन् । निर्मलाका चार छोरी र एक छोरा गरी पाँच बच्चा हुर्किसकेका छन् । निर्मलाले विवाहबारे ज्ञान नहुँदै १५ वर्षमैै विवाह भएको थियो ।

सानै उमेरमा विवाह गरेकी निर्मलालाई घरधन्दा खासै आउँदैनथ्यो, उनलाई घर सम्हाल्न निकै कठिन भयो । विवाहलगत्तै उनी गर्भवती भईन् र १६ वर्षमै आमा बनिन् । सानै उमेरमा बच्चा जन्माएकी निर्मलालाई बच्चाको स्याहारसुसार कसरी गर्ने थाहा थिएन । “बच्चालाई कस्तो खाना खुवाउने, कस्तो खाना पोषिलो हुन्छ भन्नेसमेत थाहा नभएकी मैले बच्चालाई राम्ररी हुर्काउन सकिनँ”, उनी भन्छिन्, “पोषिलो खाना र स्वास्थ्यबारेमा ज्ञानसमेत नभएकी मलाई परिवार नियोजनका साधनबारे थाहा पाउने कुरै भएन, मैले २२ वर्ष पुग्दा चार छोरी जन्माइसकेकी थिएँ ।”

निर्मलाले आफ्नो होइन घरपरिवारको इच्छा पूरा गर्न आफ्नो स्वास्थ्यको पर्वाह नगरी बच्चा जन्माईरहिन् । कलिलो उमेरमा बच्चा जन्माउनाले निर्मलालाई दोस्रो सन्तानको जन्मपछि निकै समस्या भयो । उनले लामो समयसम्म रक्तस्रावको समस्या भोग्नुभयो, तर पनि निर्मलाले पाँचौँ सन्तानका रूपमा छोरालाई जन्म दिनुपर्यो । छोराछोरी धेरै भएकाले बच्चाको आवश्यकता पूरा गर्न आर्थिक समस्याले सताएको उनले बताइन् । “परिपक्व भएर विवाह गरेको भए धेरै बच्चा जन्माउने थिइनँ”, उनले भनिन्, “बालविवाह गरेकै कारण मैले धेरै पीडा सहनुपर्यो, त्यसैले अहिले म बालविवाहविरुद्धको अभियानमा सहभागी भइरहेकी छु ।”

निर्मला अहिले बालविवाहविरुद्धको अभियानकर्मीका रूपमा काम गरिरहेकी छिन् । “मैले धेरै पीडा भोगेकाले मेरा छोरी, बहिनी तथा छिमेकमा कसैले समस्या भोग्न नपरोस् भनी अभियानमा लागेकी हुँ । म बालविवाह भइरहेको थाहा पाए रोक्छु”, उनले भनिन्। निर्मला हाल जानकी–८ मा गठित मिलीजुली सञ्जालमार्फत बालविवाह न्यूनीकरणका काममा लागेकी छिन् । त्यतिमात्र होइन उहाँले विभिन्न बालक्लबमा गएर बालविवाह, बालविवाहका बेफाइदाबारे समेत सचेतना फैलाउने काम गरिरहेकी छिन् ।

जानकी गाउँपालिका–३ लायकपुरकी मोतिकला विकको पनि १५ वर्षको उमेरमै विवाह भयो । सानै उमेरमा विवाह गरेकी मोतिकला पनि अहिले कम उमेरमा हुने विवाह न्यूनीकरणको अभियानकर्मी भएर काम गरिरहेकी छिन्। मोतिकला पनि १६ वर्षकै कलिलो उमेरमा आमा बनिन्। राम्रो स्याहार गर्न नसकेका कारण मोतिकलाको बच्चा कुपोषित भयो । “बच्चा स्वस्थ नभएपछि निकै समस्या भयो । बच्चाको उपचार निरन्तर गर्नुपर्दा आर्थिक सङ्कट पनि भयो”, उनी भन्छिन् “२० वर्ष पुगुञ्जेल चार बच्चा जन्मिए । बच्चाको राम्रोसँग स्याहार गर्न नजान्दा मेरा दुई बच्चाको मृत्यु भयो ।”

मोतिकलाको स्वास्थ्यमा अहिले पनि समस्या छ । “ढाड दुखिरहन्छ, गह्रौँ काम गर्न सक्दिनँ”, उनले भनिन्, “अहिले म ३५ वर्षकी भए । अहिले म आफूले भोगेको पीडा अरुले नभोगुन् भनी कम उमेरमा गरिने विवाहविरुद्धमा छु ।” आमा समूह, हातेमालो सञ्जालमार्फत कम उमेरमा हुने बालविवाह रोक्ने अभियान चलाइरहेको उनले बताइन् । “महिला दिदीबहिनीबीच कम उमेरमा हुने विवाह र अन्य महिलाका स्वास्थ्य समस्याबारे छलफल गर्छौँ”, उनले भनिन् ।

यी महिला त उदाहरण मात्र हुन् । यस्ता धेरै महिला बालविवाह गरेर यस्ता खालका समस्या भोग्न बाध्य छन् । आफूले भोगेजस्तै पीडा अरु महिला दिदीबहिनीले भोग्न नपरोस् भनी जागरुक हुनसमेत थालेका हुन् । पछिल्लो समय बालबालिकाको क्षेत्रमा धेरै सङ्घसंस्था र स्थानीय तहले पनि काम गरिरहेको अवस्था छ । जानकी गाउँपालिकाले सङ्घसंस्थासँगको सहकार्यमा बालविवाहसम्बन्धी बालबालिकालाई सचेत बनाउने उद्देश्यले बालक्लब गठन, बाल संरक्षण समिति नै बनाएर काम गरिरहेको छ । बालक्लबले बालअधिकार, बालदुव्र्यवहार, बालविवाहलगायतका विषयमा छलफल चलाउने गरेको छ भने बाल संरक्षण समितिले अन्याय परेकालाई न्यायको दैलोसम्म लैजान सकिने भनेर छलफल गर्ने, बालअधिकारसम्बन्धी कानूनी प्रावधानका बारेमा जानकारी गराउनेलगायतका काम गरिरहेको बाल सहजकर्ता तुलसी भाटले बताए। “हामीले जानकी गाउँपालिकाका वडाहरुमा बालक्लब गठन गरेका छौ”, उनी भन्छिन् “बाल संरक्षण समिति पनि बनाएका छौ, जसले गर्दा बालबालिकाको क्षेत्रमा काम सजिलो भएको छ ।”

बालविवाहका कारण धेरै महिला तथा किशोरीले समस्या भोग्नुका साथै आत्महत्या गर्न बाध्य भएको घटना पनि थुप्रै देखिने गरेको पाइन्छ । कानूनीरूपमा बालविवाहलाई मान्यता नदिए पनि अझ पनि गाउँमा बालविवाह गरिरहेको अवस्था छ । इलाका प्रहरी कार्यालय टीकापुरले आत्महत्या गर्नेमा कम उमेरका महिला बढी रहेको बताएको छ । प्रहरीले चालु आर्थिक वर्षको अहिलेसम्म दुईवटा बालविवाहका मुद्दा चलाएको छ । “हामीले तीनवटा विवाह गरेका कम उमेरका केटाकेटीलाई सम्झाइबुझाई अभिभावकको जिम्मा लगाएका छौँ”, इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले भनिन्, “एउटा विवाह भइरहेको थियो, ग्रामीण महिलाले सूचना दिएपछि हामीले मण्डपमै गएर बदर गर्न लगायौँ ।”

प्रहरीका अनुसार समाजमा बालविवाह धेरै छ । प्रहरी नायब उपरीक्षक न्यौपाने समाजले बालविवाहलाई स्वीकृति दिएकै कारण कम उमेरमा हुने विवाह न्यूनीकरणमा समस्या भएको बताउछन् । “हामीले विद्यालय र टोलमा गएर बालविवाहविरुद्ध सचेतनामूलक कार्यक्रम गरिरहेका छौँ”, उनले भने, “प्रहरीले स्थानीय सरकारसँग मिलेर अभियान चलाइरहेको छ । हाम्रो अभियानमा स्थानीय जनप्रतिनिधिको पनि सहकार्य छ ।”

कैलालीको टीकापुर नगरपालिकाले बालविवाह रोक्नका लागि ‘हाम्री छोरी प्यारी छोरी’ कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत टीकापुर नगरपालिकाभित्र जन्मेका छोरीको बैँक खाता खोलेर वार्षिक रु एक हजार राखिदिने गरेको छ । “समयमै छोरीको जन्मदर्ता होस् र उनीहरुलाई सचेत बनाउन सकियोस् भन्ने उद्देश्यले छोरीको नाममा खाता खोल्न थालिएको हो”, टीकापुर नगरपालिकाका उपप्रमुख केशरी रावल विष्टले भने, “छोरीको महत्व बुझाउने अभियान हो । यसका साथै छोराछोरीबीचको विभेद अन्त्य गर्न सचेतना फैलाउने खालका अन्य कार्यक्रमसमेत गरिरहेका छौँ ।” रासस



प्रतिक्रिया दिनुहोस्