Logo

महिला आसरा सुधार केन्द्रको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न



काठमाडौं, ५ फागुन । महिला आसरा सुधार केन्द्रको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । महिला आसरा सुधार केन्द्र तिलगंगाको दोस्रो वार्षिकोत्सव कार्यक्रम सोही केन्द्रकी अध्यक्ष श्रीमती सिर्जना थापाको प्रमुख आतिथ्यमा मंगलबार सम्पन्न भएको हो ।

सो अवसरमा केन्द्रकी अध्यक्ष थापाले केन्द्रकी पूर्वअध्यक्ष प्रमिला खनाललाई सम्मानपत्र प्रदान गरिन्। साथै उनले केन्द्रलाई निरन्तर सहयोग गर्ने शान्ति सेवा गृह तिलगंगा काठमाडौंका कार्यक्रम संयोजक बिजेन्द्र कुवँरलाई प्रसंशापत्र, परामर्शदाता लक्ष्मण सिं अधिकारीलाई प्रशंसापत्र र नगद पुरस्कार तथा केन्द्रको सुरक्षा एवं व्यवस्थापन कार्यमा सहयोग गर्ने प्रहरी कर्मचारीहरु प्रहरी सहायक निरीक्षक शुक्रदेवी राई, प्रहरी जवानद्वय अनुपा हुमागाई र लक्ष्मी दाहाललाई नगद पुरस्कार प्रदान गरिन् ।

कार्यक्रममा केन्द्रकी अध्यक्ष थापाले प्रहरी जवान भक्त बहादुर नेपालीका २ वर्षीय छोरा लक्ष्मी प्रसाद नेपालीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यका साथ आर्थिक सहायता स्वरुप नेपाल प्रहरी श्रीमती संघको तर्फबाट ५१ हजार रुपैयाँ र आसरा सुधार केन्द्रको तर्फबाट ५१ हजार रुपैयाँ गरी जम्मा १ लाख २ हजार रुपैयाँको चेक हस्तान्तरण गरिन् ।

सो अवसरमा केन्द्रकी अध्यक्ष थापाले विगतमा पुरुष तथा युवाहरुमा सीमित रहेको लागूपदार्थको प्रयोग समयसँगै महिलाहरुमा समेत फैलिएर व्यक्ति, परिवार, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय जगतलाई आक्रान्त बनाइरहेको अवस्थामा लागूऔषधको दुरुपयोग विरुद्ध चेतनामूलक कार्यक्रम गरी उपचार तथा पुनर्स्थापनामा सघाउँदै लागूऔषध मुक्त समाजको निर्माण गर्नु केन्द्रको प्रमुख उद्देश्य रहेको बताइन् । लागूऔषधको कुलतमा फसेका महिला लागूऔषध प्रयोगकर्ताहरुलाई व्यक्तिगत परामर्श, सामूहिक परामर्श तथा आध्यात्मिक प्रवचन, योगाभ्यास लगायतका माध्यमहरुद्वारा उपचार गरी घर, परिवार र समाजमा पुनर्स्थापित गराई उनीहरुको सुखद भविष्य निर्माण गर्ने पवित्र उद्देश्यका साथ केन्द्रले गुणस्तरीय सेवा प्रदान गर्दै आएको उनले चर्चा गरिन् ।

कार्यक्रममा केन्द्रकी पूर्व अध्यक्ष श्रीमती प्रमिला खनालले दुर्व्यसनीमा फसेका महिलाहरूलाई समाजमा पुनर्स्थापित गराउन केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताइन्। आसरा सुधार केन्द्र विशुद्ध कल्याणकारी र समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि सधै समर्पित रहेको उनले बताइन् ।

केन्द्रकी सचिव श्रीमती रीता श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरुले विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ तथा केन्द्रका पदाधिकारीहरु, केन्द्रका पूर्वपदाधिकारीहरु, प्रहरी अधिकृतहरु, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, उपचाररत सदस्यका अभिभावकहरु लगायतको उपस्थिति रहेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot