Logo

कोभिड–१९ को प्रभावमा ‘तनहुँ सभाहल’



तनहुँ, ६ फागुन । गण्डकी प्रदेशकै गौरव तथा ठूलो आयोजनाको रूपमा निर्माणाधीन ‘तनहुँ सभाहल’को निर्माण कार्य हालसम्म ७५ प्रतिशत सम्पन्न भएको छ । विसं २०७४ पुस १३ मा सम्झौता गरी विसं २०७७ असार १३ मा निर्माण सम्पन्न गर्ने सम्झौता गरी श्री डाँफे एमए प्रतिष्ठा जेभी काठमाडौँले निर्माणको जिम्मा पाएको हो । कोभिड–१९ का कारण सम्झौता भएको अवधिमा सम्पन्न गर्न नसकिएपछि छ महिनाको म्याद थप गरी पुस महिनामा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य अघि बढाइएको थियो ।

उक्त अवधिमा पनि सम्पन्न गर्न नसकिने देखिएकाले पुनः छ महिना समय थप्नका लागि प्रक्रिया अघि बढाइएको निर्माण कम्पनीका इञ्जिनीयर विक्रम केसीले बताए । व्यास नगरपालिका–३ बिपीवन बाटिकामा निर्माण गरिएको उक्त भवनको निर्माणको कार्य सम्पन्न भए पनि फिनिसिङको कार्य बाँकी रहेको छ । उनका अनुसार अहिले मार्बल बिच्छ्याउने कार्य, प्लम्बिङ, एसी जडानलगायतका कार्य भइरहेका छन् ।

करिब छ हजार ५०० वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको उक्त भवनको दुई ब्लकमा गरी भवन निर्माण गरिएको छ । निर्माणाधीन सभाहलको क्षमता ७५० को रहेको बताइएको छ । चार ढलानको निर्माण हुने सो भवनको भुइँ ढलानमा सवारी पार्किङ, दोस्रो तल्लामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम कक्षलगायतका सुविधायुक्त कक्ष रहने छन् ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गोरखाको आर्थिक सहयोगमा भवन निर्माण कार्य अघि बढाइएको निर्माण कम्पनीका साइट सुपरभाइजर गौतम घिमिरेले जानकारी दिए । भवन कूल रु २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा बन्न लागेको हो । रासस



प्रतिक्रिया दिनुहोस्