Logo

बारा–पर्सा कोरिडोर निर्माण सामग्री उत्पादनको केन्द्र



वीरगञ्ज, फागुन १० । बारा–पर्सा औद्योगिक कोरिडोरमा निर्माण सामग्रीका उद्योगमा लगानी बढेको छ । मुख्य नाका र भौगोलिक रूपमा मध्यभागमा रहनुका कारण यो औद्योगिक कोरिडोर निर्माण सामग्री उत्पादनको केन्द्र बनेको सरोकारका उद्यमीको भनाइ छ ।

यो कोरिडोरलाई आधार बनाएर निर्माण सामग्री उत्पादनमा लगानी बढाइरहेको क्याल समूहका निर्देशक राजेश क्याल बारा–पर्सा करिडोरलाई निर्माण सामग्री उत्पादनको हबको रूपमा ब्रान्डिङ गर्न सकिने बताउँछन् । ‘लगानी परिमाण र सम्भावनाका आधारमा कोरिडोरलाई निर्माण सामग्री उत्पादनको विशेष क्षेत्रको रूपमा ब्रान्डिङ गर्न सकिन्छ । यसका लागि यो क्षेत्रमा खुल्ने उद्योगलाई विशेष सहुलियतसहितको व्यवस्था मिलाइनुपर्छ,’ क्यालको भनाइ छ ।

निर्माण सामग्रीका उद्योगले आयात गर्ने कच्चा पदार्थ, विद्युत्, कर तथा राजस्वमा छूट दिएर यो क्षेत्रलाई निर्माण सामग्री उत्पादनको केन्द्रका रूपमा विस्तार गर्न सकिनेमा उद्योगी प्रदीप केडिया पनि विश्वस्त छन् । मुख्य नाका वीरगञ्जसँगै जोडिएर रहेकाले कच्चा पदार्थको आयात सहज छ । यस क्षेत्रको भौगोलिक अवस्थिति मुलुकको मध्यभागमा भएकाले उत्पादनको ढुवानी र बजारीकरण पनि सहज हुने केडिया बताउँछन् । बारा–पर्सा कोरिडोरको सम्भाव्यता दोहनका लागि लगानीको सुरक्षित वातावरण र पूर्वाधारको व्यवस्थित प्रबन्धको पूर्तिलाई भने ध्यान दिइनुपर्ने उद्यमीको भनाइ छ । ‘उपलब्ध पूर्वाधारलाई प्रभावकारी परिचालन र आवश्यकीय आधार निर्माण भएमा यो क्षेत्रलाई निर्माण सामग्री उत्पादनको केन्द्रका रूपमा स्थापित गर्न सकिने पर्याप्त सम्भावना छ,’ तराई स्टीलका सञ्चालकसमेत रहेका केडियाको भनाइ छ ।

बारा र पर्सा जिल्लालाई समेटिएको कोरिडोरमा साना ठूला एक दर्जन डन्डी र त्यति नै संख्यामा सिमेन्ट उद्योग र निर्माणसम्बन्धी अन्य उद्योग छन् । कोरिडोरका यस्ता उद्योगमा मात्रै २० अर्ब रुपैयाँभन्दा बढी लगानी पुगिसकेको अनुमान उद्यमीहरूको छ ।

निर्माण सामग्रीका उद्योगमा लगानी बढाइरहेको क्याल समूहले पछिल्लो केही वर्षयता कोरिडोरमा डन्डी, जस्ता, ब्लक, जालीलगायत उद्योगमा लगानी थपेको छ । सौरभ समूहले हालै ३ अर्ब रुपैयाँको लगानीमा डन्डी र बिलेट उत्पादनको तयारी गरेको छ । वार्षिक १ लाख मेट्रिकटन डन्डी र ३ लाख मेट्रिकटन बिलेट उत्पादन क्षमताको यो उद्योग आउँदो वैशाखदेखि सञ्चालनमा ल्याउने योजना उद्योग व्यवस्थापनको छ ।

पछिल्लो समय नेपालका डन्डी उद्योगले बिलेट पनि बनाउन थालेका छन् । क्याल समूहको नारायणी स्पातले पनि बिलेट र डन्डी उत्पादन गरिरहेको छ । त्यसअघि कोरिडोरकै जगदम्बा स्टीलले कवाड फलाम पगालेर बिलेट बनाइरहेको थियो ।

डन्डी उद्योगले अहिले पनि अधिकांश कच्चा पदार्थ भारतबाट आयात गर्छन् । कच्चा पदार्थ यहीँ उत्पादन गर्दा यसले उत्पादन लागत घटाउन मद्दत मिल्ने उद्यमी क्यालले बताए ।

यस्ता उद्योगलाई विद्युत् बढी आवश्यक पर्ने भएकाले महसुलमा छूट दिने हो भने लागत न्यूनीकरण गर्न सकिने उनले बताए । कोरिडोरका अधिकांश सिमेन्ट उद्योग ग्रान्डिङमा आधारित छन् । नेपाल शालिमार सिमेन्ट प्रालिले आफ्नो लगानीमा क्लिंकर पनि उत्पादन गरेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot