Logo

निर्माण शुरु भएको चार वर्षसम्म पाँचकुमारी खोलाको पुल अलपत्र



सर्लाही, १७ फागुन । सर्लाहीको र लालबन्दी जोड्ने पाँचकुमारी खोलाको पुल चार वर्षदेखि अलपत्र अवस्थामा छ । आर्थिक वर्ष २०७४÷७५ बाट निर्माण शुरु भएको सो पुल निर्माण शरु भएको चार वर्ष बितिसक्न लाग्दा पनि निर्माण कार्य अलपत्र अवस्थामा परेको हो ।

हरिपुर नगरपालिका–८ र लालबन्दी नगरपालिका–४ को सिमानामा रहेको पाँचकुमारी खोलामा दुई खम्बा भएको पक्की पुल निर्माण शुरु गरिएको चार वर्षसम्म पनि जनप्रतिनिधिको लापरवाहीका कारण निर्माण सम्पन्न हुन नसकेको स्थानीयवासीेले बताएका छन् । हरिपुर नगरपालिकाको रु २५ लाख र लालबन्दी नगरपालकाको रु १० लाख गरी ३५ लाखको लागतमा निर्माण सम्पन्न गर्ने गरी शुरु भएको पुलको हालसम्म निर्माण उपभोक्ता समितिमार्फत नै काम भएको र विभिन्न चरणमा गरी रु २५ लाख रकम सकिसकेको पुल निर्माण उपभोक्ता समितिले जनाएको छ ।

आव २०७४÷७५ मा नगरले रु पाँच लाख, आव २०७५÷७६ मा नगरले रु १० लाख लालबन्दी नगरपालिकाले रु १० लाख रकमको व्यवस्था गरेको थियो । आव २०७७÷७८ मा पनि हरिपुर नगरपालिकाले रु १० लाख रकमको व्यावस्था गरेको छ ।

लालबन्दीतर्फको क्षेत्रमा पुलको माथिल्लो भौतिक संरचना निर्माण भइसकेको भए पनि मानिस अहिले पनि खोलाबाटै आवतजावत गर्न बाध्य छन् । हरिपुरतर्फको क्षेत्रमा माटो भर्ने, ढङ्गा जाली लगाउने काम बाँकी नै रहेको हरिपुर नगरपालिका–८ का वडाध्यक्ष हरिबहादुर थापाले बताए ।

उपभोक्ता समितिमार्फत निर्माण शुरु गरिएको पुलको हालसम्म तीनवटा निर्माण उपभोक्ता समिति गठन गरिसकिएको वडाध्यक्ष थापाले जानकारी दिए । वडाध्यक्ष थापाले हरिपुर नगरपालिकाका नगर प्रमुख मन्सुरले पुल निर्माण कार्यमा रकमको उचित व्यवस्था नगर्दा निर्धारित समयमा पुल निर्माण हुन नसकेको आरोप लगाए ।

नगर प्रमुख मन्सुरले निर्माण उपभोक्ता समितिमार्फत काम गर्दा गुणस्तरीय काम हुने भएका कारण आफूले निर्माण उपभोक्ता समितिमार्फत काम गर्न लगाएको बताए। उहाँका अनुसार पुल निर्माणको काम करीब ७० प्रतिशत सकिएको र अबको केही महिनाभित्रमा पूरै काम सम्पन्न हुने छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot