Logo

छिस्तीमा हवाई चप्पल उत्पादन गर्दै विश्वकर्मा



बलेवा, १९ फागुन । बागलुङको दक्षिण जैमिनी नगरपालिका–८ छिस्तीका युवा कमल विश्वकर्माले गाउँमै हवाई चप्पल उत्पादन गर्न शुरु गरेका छन्। रोजगारीको सिलसिलामा विदेशिने युवाहरुको जमात बढिरहेका बेला छिस्तीका युवा विश्कर्माले ग्रामीण क्षेत्रमै व्यवसायको प्रर्वद्धन गर्ने उद्देश्यले गाउँमा हवाई चप्पल उत्पादन गर्न शुरु गरेका हुन् ।

केही समयअघि पोखराका केही सञ्चारमाध्यममा समेत काम गर्नुभएका विश्वकर्माले अहिले भने गाउँमै केही गर्नुपर्छ भन्ने हेतुले छिस्ती धुसमा चप्पल उद्योग सञ्चालनमा ल्याएको बताए । मानिसका लागि अति आवश्यक पर्ने चप्पल बाहिरी देश अथवा गाउँभन्दा बाहिरबाट ल्याउँदा धेरै महँगो पर्ने भएकाले आफूले गाउँमै उद्योग सञ्चालन गरेको उनको भनाइ रहेको छ ।

पाँच लाख लगानी गरेर सञ्चालन गरिएको उद्योगमा दैनिक १०० देखि १५० जोडीसम्म चप्पल उत्पादन हुँदै आएको उनले जानकारी दिए । उत्पादित चप्पल बागलुङ बजारसँगै छिमेकी जिल्ला गुल्मी, पर्वतमा पनि बिक्री भइरहेको विश्वकर्माले बताए ।

स्वदेशमै राम्रो आम्दानी गर्न सकेमा विदेश जानुपर्ने बाध्यताको अन्त्य हुने उल्लेख गर्दै उहाँले अर्काको देशमा रातदिन पसिना बगाए पनि आत्मसम्मान नहुने भएकाले स्वदेशमा व्यवसाय शुरु गरेको बताए । अहिले उद्योगमा बाबुछोराले काम गरिरहेको र अब केही समयपछि लगानी बढाएर गाउँमै रहेका युवाहरु पनि रोजगार दिने सोचमा रहेको बताए । रासस



प्रतिक्रिया दिनुहोस्