Logo

नहरपुर माविको भवन निर्माणका लागि भारतद्वारा सहयोग



काठमाडौं, २० फागुन । भारत सरकारले बुटवलस्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि ४ करोड ४१ लाख रुपैर्या अनुदान सहयोग गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं.११ नहरपुर स्थित उक्त विद्यालयको नयाँ भवन निर्माणका लागि भारत सरकारले सहयोग गरेको हो ।

आज संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, बुटवल उप–महानगरपालिका र भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुखबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

भारत सरकारको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम’ अनुरुप ‘नेपाल–भारत मैत्री विकास साझेदारी’ अन्तर्गत उक्त नयाँ भवनको निर्माण हुने जनाइएको छ ।

नहरपुर मावि सन् १९७१ मा स्थापना भएको हो । विद्यालयले प्लस–टु तहको शिक्षा तथा व्यवस्थापन संकायमा पठनपाठन सञ्चालन गर्दै आएको छ । हाल विद्यालयमा अध्ययन गरिरहेका कूल ११२७ विद्यार्थी मध्ये ५० प्रतिशत छात्रा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्