Logo

जुम्ली स्याउको उत्पादन घट्यो



जुम्ला, फागुन २५ । जुम्लामा गतवर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन करीब आधा घटेको छ । यहाँको जुम्ली स्याउको माग वर्षेनि बढिरहँदा उत्पादनमा ह्रास आउन थालेपछि आफूहरू चिन्तित भएको स्याउ किसान महेन्द्र पाण्डेले बताए ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार यस वर्ष १९ करोड रुपैयाँ बराबरको स्याउ जिल्लाबाहिर गएको छ । गतवर्ष ३४ करोड रुपैयाँ बराबर स्याउको कारोबार भएको थियो । वरिष्ठ कृषि अधिकृत खेमराज शाहीले भने, ‘यस वर्ष उत्पादन ह्वात्तै घट्यो, स्याउको क्षेत्रफल बढिरहेका बेला उत्पादन घट्दा किसान मर्कामा छन् ।’

उनका अनुसार गएको वर्ष १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यस वर्ष ६ हजार दुई मेट्रिकटन मात्र उत्पादन भएको छ । पछिल्लो समयमा यहाँका किसान स्याउखेतीप्रति आकर्षित भए पनि उत्पादनमा हरेक वर्ष ह्रास आइरहेको कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधिक बताउँछन् ।

जुम्लामा विगत दुईरतीन वर्षयताकै स्याउ उत्पादन घटेको हो । समयमा हिउँ नपर्नु, बगैंचामा भाले जातको बिरुवा नहुनु, तालीमप्राप्त प्राविधिकबाट बिरुवा व्यवस्थापन नहुनुलगायत कारणले स्याउ उत्पादनमा कमी आएको स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख नमराज सापकोटाले बताए । हचुवाको भरमा स्याउखेती गर्नाले पनि स्याउ नफलेको कृषि प्राविधिक बताउँछन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot