Logo

४० वर्ष भारतको जेलमा बिताएका दुर्गाप्रसाद छुटे



काठमाडौं, ७ चैत्र । भारतको जेलमा ४० वर्ष रहेका दिपक जैसी भनिने दुर्गाप्रसाद तिम्सिना शनिबार छुटेका छन् । कोलकाता उच्च अदालतको आदेशबमोजिम छुटेका तिम्सिनाले छुटेपछि खुशी भएको बताए । के तपाईं खुशी हुनुहुन्छ भनेर पत्रकारले सोध्दा उनले हा भनेका थिए ।

पश्चिम बँगालको दमदम करेक्सनल सेन्टरबाट उनी छुटेका हुन् । सेतो पहिरनमा रहेका उनी थकित देखिन्थे । त्यहाँको जेल प्रशासनबाट परिवारले बुझेको थियो । दुर्गाप्रसादलाई लिन भाइ प्रकाशचन्द्र दमदम जेलमा पुगेका थिए ।

दुर्गाप्रसादलाई आइतबार नेपाल ल्याइनेछ । सिलगुढीबाट काकडभिट्टा हुँदै प्रवेश गर्ने बुझिएको छ । अब हरेक छ महिनामा उनको अवस्थाबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराउनुपर्नेछ ।

इलाम घर भएका दिपक जैसी भनिने दुर्गाप्रसाद तिम्सिना २०३७ सालमा कामको सिलसिलामा मंगलबारे झर्दा १९ वर्षका थिए । त्यहाँबाट दार्जिलिङ पुगेका थिए । त्यहाँ एक व्यक्तिको हत्या अभियोगमा उनी पक्राऊ परेका थिए । त्यहाँ गोर्खाल्यान्ड आन्दोलन चर्किएको थियो । आन्दोलनकारीले जेलमै आगजनी गर्दा उनको कागजात जलेको थियो । जसका कारण उनी कोलकाता सेन्ट्रेल जेल सरुवा गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot