Logo

बामदेवले बोल्दा बोल्दै ओलीले रोकेपछि…



काठमाडौं, ८ चैत्र । नेकपा एमालेको शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा प्रभावशाली नेता बामदेव गौतम पुगेपछि तरंग नै आयो । धेरैले गौतमले कित्ता स्पष्ट पारेको अनुमान गरे । एमाले विवाद समाधानको सुत्र लिएर बालुवाटारमा पुगेका गौतम अध्यक्ष केपी शर्मा ओलीको गुटमा त गएनन् ? धेरैले अनुमान गरे ।

समानुपातिकतर्फको सांसद रहेकी गौतमपत्नी तुलसा थापा यसअघि नै ओली समूहको बैठकमा गएकी थिइन् । यसकारण पनि गौतमले कित्ताकाट गरेको अनुमानहरु भए । तर, बालुवाटार बैठकमा तीतो मन लिएर गौतम फर्किए ।

संसदीय दलको बैठकमा गौतमले बोल्दा एकताको विषयमा जोड दिए । उनले ओलीलाई पूर्व निर्णयहरु सच्याएर बढ्न भने । एमालेमा एकतावद्ध भएर जाने विषय देखि कम्युनिस्ट एकताको विषयमा गौतमले बोल्न थाले । खरो बोल्दै गरेका गौतमलाई प्रधानमन्त्री ओलीले रोक्न खोजे । उनले समयको विषय निकाल्दा अब भयो भनेर गौतम बोल्दा बोल्दै हस्तक्षेप गर्न खोजे । त्यसबाट गौतम रुष्ट भएर धन्यवाद भनेर निस्किएका थिए ।

संसदीय दलको बैठकमा बोल्ने क्रममा गौतमले आफूलाई ह्वीप नलाग्ने समेत बताए । राष्ट्रिय सभाका सांसद गौतम मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिद्वारा मनोनित सांसद हुन् । उनले यसकारण पनि ह्वीप नलाग्ने तर्क गरे । ओलीको कार्यशैलीप्रति खरो रुपमा बोल्ने कोही नभएको बैठकमा उनी कडा रुपमा प्रस्तुत भएपछि बीचैमा हस्तक्षेप गरी रोक्न खोजिए । त्यसबाट गौतम रुष्ट भई बालुवाटारबाट निस्किएका थिए । उनी केन्द्रीय कमिटी बैठकमा पनि सहभागी भएनन् ।

यसैगरी, गौतमले आफूले ओलीसँग आत्मसमर्पण नगरेको स्पष्ट पारेका छन् । उनका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले सामाजिक सञ्जालमा यसबारे उल्लेख गरेका छन् ।
विश्वस्त स्रोतका अनुसार गौतम ओलीप्रति निकै असन्तुष्ट भएका छन् । एमालेलाई दुर्घटनामा लान खोजेको भन्दै जतिसक्दो कडा कदम चालेर बढ्नेबारे छलफल चलाएका छन् ।-तस्बिर स्रोतः प्रमको सचिवालय



प्रतिक्रिया दिनुहोस्

Screenshot