Logo

मुटुरोग उपचारका लागि नेपाल मेडिसिटी बिराटनगरमा



ललितपुर, ९ चैत्र । मुटुको विशिष्ट उपचार नेपाल मेडिसिटी अस्पतालले बिराटनगरमा उपलब्ध गराउने भएको छ । आगामी बैशाख १ गते देखि इन्टरभेन्सन् कार्डियोलोजी लगायत मुटुको अधिकांश विशिष्ट उपचार नेपाल मेडिसिटी अस्पतालले बिराट मेडिकल कलेज टंकी सिनुवरी, बिराटनगरबाट शुरु गर्ने भएको छ ।

एन्जियोग्राफि, एन्जियोप्लाष्टि लगायत क्याथल्याबमार्फत गरिने इन्टर्भेन्सनल कार्डियोलोजी सेवाले बिराटनगरलगायत पूर्वाञ्चलभरिकै जनताहरुलाई आकस्मिक मुटुरोग उपचारमा सहजता प्राप्त हुने विश्वास लिइएको छ ।

ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पताल र बिराटनगरस्थित् बिराट मेडिकल कलेजले सोमबार एक सम्झौता गरेसँगै नेपाल मेडिसिटीका मुटुरोग विशेषज्ञहरुले बिराटनगरमा सेवा बिस्तार गर्ने भएका छन् । नेपाल मेडिसिटी अस्पतालका कर्पोरेट विकास प्रमुख पंकज बाँस्कोटा तथा बिराट मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत तथा उपाध्यक्ष डेनिस कार्कीले सम्झातापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल मेडिसिटी अस्पतालका चिफ अफ क्लिनिकल सर्भिसेज एण्ड एजुकेशन डा. नीलमणी उपाध्यायले यो सम्झौता ऐतिहाँसिक भएको प्रतिक्रिया दिएका छन् । विशेषज्ञ चिकित्सकको खोजीमा बिरामीहरुले काठमाण्डौंसम्म पुग्न लामो तथा कष्टकर यात्रा गर्नुपरेको अवस्थामा यसले गुणस्तरीय उपचार सेवा अब बिरामीको घरदैलोमै प्राप्त हुने उनले बताए ।

बिराट मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत तथा उपाध्यक्ष डेनिस कार्कीका अनुसार उत्तः सम्झौतापश्चात् बिराट मेडिकल कलेजको मुटरोग विभागको सञ्चालन नेपाल मेडिसिटी अस्पतालका चिकित्सकहरुले गर्नेछन् र यस संयुक्त प्रयासले बिराटनगरका जनता लाभान्वित हुनेछन् । साथै, बिराट मेडिकल कलेजका स्वास्थ्यकर्मीहरुले नेपाल मेडिसिटी अस्पतालमा मुटुरोगसम्बन्धी तालिम लिई सीप अभिवृद्धि गर्ने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्