Logo

हात्तीसँग संवाद किन जरुरी छ ?



युवराज भट्टराई : विगत दश वर्षदेखि कोशीटप्पु वन्यजन्तु आरक्षणमा आश्रित ‘मकुना’ नामको मत्ता हातीले यो पछिल्लो दुई वर्षको अवधिमा मध्यवर्ती आसपासका क्षेत्रका २३ स्थानीयलाई मारिसकेको छ । उसको यही मंसिरमा गहुँमा पानी लगाउन गएका २८ वर्षे स्थानीय प्रमोद यादवलाई मारेको थियो । एउटै हात्तीको कारण यत्रो संख्यामा स्थानीयहरु मारिनु अक्षम्य छ र त्यसैले यो हात्तीलाई विज्ञ र चिकित्सकको टोलीले उपचार गरेर निस्कृय पार्ने रणनीति अपनाइयो । तर उपचारकै क्रममा अर्का स्थानिय पनि यसको शिकार भए । अझै निस्किृय नभए यसलाई कस्तो कार्बाही गर्ने वा नियन्त्रणमा लिने भन्ने निर्णय हुनै बाँकी छ ।

पाँच वर्ष पहिला चितवनको ध्रुवे मत्ताले पनि २३ जना स्थानिय मारेको थियो । गोलीको वर्षा खाएर एकाएक गायव भएको ध्रुवे अहिले चितवन फर्किसकेको छ त्यो पनि आनीबानी सुधारेर ।
नेपालको तराईमा हात्ती आतङ्क नौलो होइन । तर नेपालमा हात्ती–मानवको द्वन्द भने कम विकराल छैन । अशोक राम र हरिभद्र आचार्यले उल्लेख गरेका छन् कि प्रत्येक वर्ष नेपालमा हात्तीका कारण १०–१५ मानिसले ज्यान गुमाउँछन् भने २ देखि ३ हात्ती मारिन्छन् । हात्तीकै कारण स्थानीयले ठूलो मात्रामा बालीनाली, अन्न र सम्पत्तिको क्षति ब्यहोर्नु परिरहेको छ ।

अझ चितवन पूर्वका सबै जिल्लामा हात्ती आतङ्क अत्यधिक छ । कोशी पूर्वका झापा, मोरङ र सुनसरी लगायतका पश्चिमका सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही र पर्सा कुनै जिल्ला अछुतो छैन । यिनको बिचमा एक मात्र आरक्षण क्षेत्र कोशीटप्पु मात्र छ । कोशीटप्पु र त्यहाँबाट पूर्वतर्फ विचरण गर्ने हात्तीको संख्या सरदर एक दर्जन देखि १५ वटा मात्र हो ।

हात्तीविद् आरएम लजको कुरालाई स्विकार्ने हो भने ‘दक्षिण एशिया कुनै दिन हात्तीको सागर जस्तो थियो भने मानव बस्तीबिचका टापु जस्ता ।’ यस्तो विगतलाई सम्झदा पूर्वी तराईमा जम्मा दर्जनको हाराहारीमा फिरन्ते (अहिले हात्तीविद्हरु वाइल्डवा जङ्गली शब्द प्रयोग गर्दैनन्, यसको सट्टा ‘फ्रिरोमिङ’ अर्थात् फिरन्ते शब्द प्रयोग गरिन्छ) हात्तीको संख्या १५ को हाराहारीमा रहनु एकदमै न्युन हो । यद्दपी यति सानो झुण्डले सिर्जेको समस्या भने विकराल छ । अहिले पूर्वी तराई मानव सागरमा रुपान्तरण भइसकेको छ, निकुन्ज क्षेत्र न्युन छ, एक अर्को जङ्गललाई जोड्ने हात्तीको जैविक मार्ग (वायोलोजिकल करिडोर जसलाई आसाममा हात्ती डाँडी पनि भनिन्छ) ध्वस्त छ । फलस्वरुप यो भिमकाय साहाकारी अर्थात् ‘मेघा हर्भिभोरस’को नियमित जस्तो मानिससँग मुठभेड हुने गरेको छ । हात्ती–मानव द्वन्द आकासिँदो छ ।
ठीक यतिबेला ‘मकुना’ मत्तालाई नियन्त्रणमा लिन परेको छ । सायद उ मारिन पनि सक्छ वा ध्रुवे झैँ सुध्रन पनि । तर के एकाध ध्रुवे र मकुना सुध्रदैँमा वा तिनलाई मारिदैँमा तराईको हात्ती–मानव द्वन्दको समाधान होला त रु यसको दिर्घकालिन समाधानको लागि त ‘इथ्नोइलिफेन्टोलोजीकल’ दृष्टिकोणबाट हात्ती–मानव सम्बन्धका बहुआयमिक पक्षहरुको अध्ययन गरिनुपर्छ र त्यही अनुरुप नीति निर्धारण गरी कार्यान्वयन गर्नुपर्छ । यसले मात्र द्वन्द न्युनिकरयण गर्न सक्छ । पियर्स लकका अनुसार, मानव–हात्तीको अध्ययन सँगसँगै लैजाने दृष्टिकोण नै इथ्नोइलिफेन्टोलोजी’ हो । लकका अनुसार, मानिस र हात्ती दुवैले अहिले एउटै ईलाका र करिडोर (बाटो वा डाँडी) प्रयोग गरिरहेका छन्, भरसक दुवै एक–अर्कासँग तर्कन्छन् । तर परिस्थिति यस्तो बनिसकेको छ कि नचाहँदा–नचाहँदै पनि पर्यावरणका यि दुवै ‘विशिष्ट इन्जिनियर’ एक आपसमा आमने–सामने हुनुपरेको छ । जसमा मुख्य दोष मानिसकै छ, हात्तीको होइन । हात्तीविदद्वय एम रंगराजन तथा रमन सुकुमार लगायतको अध्ययनले भन्छ – एशियन हात्ती विचरणको कुल क्षेत्रमध्ये मात्र २० प्रतिशत पार्क तथा संरक्षित क्षेत्रभित्र पर्छ । अरु ८० प्रतिशत विचरण इलाका बाहिर पर्छ जहाँ तिनले मानिससँग द्वन्दात्मक सह–अश्तित्व स्विकार्नु परेको छ । यहि ८० प्रतिशत क्षेत्रभित्र एक अर्को चरण क्षेत्र जोड्ने करिडोरहरु पनि पर्छन् ।
यिनको विचरण क्षेत्र यति विशाल छ कि कुनै दिन, पर्सा र चितवनका हात्ती चारकोसे झाडी हुँदै आसाम र बंगालसम्म पुग्थे, त्यताका हात्ती पनि मौसम र खानाको अनुकुलताका आधारमा यता आउँथे । अझ हुर्किसकेका मत्ता त आफ्नो परिवार र झुण्ड छोडेर अन्य झुण्डसँगको समागमको लागि निक्कै नै लामो यात्रा तय गर्ने गर्छन् । चितवनबाट विस्थापित ध्रुवे हात्ती आसाम पुगेको आशंका गरिएको थियो । अनुवंशिक विशिष्टताको लागि पनि अन्तर-बंशिय संसर्ग अत्यावश्यक मानिन्छ । यसले नै तिनको दिगो अस्तित्वलाई मद्दत पु¥याउँछ । त्यसैले यसको दिगो संरक्षणको लागि केरला, बंगाल, आसाम देखि नेपालका हात्ती जोडिने बायोलोजिकल करिडोरको आवश्यकता पर्छ । विगतमा यिनलाई आपसमा जोड्ने करिडोरहरु थिए, आज छैनन् । हजारौं वर्ष देखि उसले विचरण गर्दै आएको क्षेत्र र प्रयोग गर्दै आएका करिडोरहरु सकेसम्म आजपनि उ प्रयोग गर्न खोज्छ । आवश्यक पनि छ । परम्परागत पारिवारिक सिकाइका आधारमा पनि उसले आफ्नो बाटो याद राख्छ ।

जहाँसम्म पुर्वी नेपालको सवाल छ, महेन्द्र राजपथ उत्तरका चारकोसे झाडी क्षेत्र तथा झापाका दक्षिण–पुर्वी भागहरु हात्ती विचरणका परम्परागत क्षेत्रहरु हुन् । चारकोसे झाडी त नेपाल, बंगाल, बर्मा तथा आसामका हात्तीहरु जोड्ने एेतिहासिक तथा सामरिक बायोलोजिकल करिडोर हो । हात्तीविद अशोक रामका अनुसार पनि मेची नदी आफैँमा नेपालका तीन मध्ये एक महत्वपुर्ण अन्तराष्ट्रिय करिडोर हो, जहाँ उनीहरु चारकोसे झाडी हुँदै जाने गर्छन् । महेन्द्र राजपथ बन्नु अघि पूर्वी तराइका अधिकांश राजबंशी, धिमाल र सन्थालका बस्तीहरु दक्षिणी क्षेत्रतिर अवस्थित थिए । तर राजमार्ग निर्माणले चारकोसे झाडी दोहन मात्र आकासिएन, आसपासका क्षेत्र पहाडबाट बसाईँ सरेर जानेले भरियो । अब बिर्तामोड, सुरुङ्गा, दमक, उर्लाबारी तथा इटहरी जस्ता सहरहरु उदाए । यिनको विस्तार यसरी भयो कि इटहरीलाई छोड्ने हो भने अरु तिनै सहर चारकोसे झाडी निल्दै चुरे सम्म नै विस्तार भइसकेका छन् ।

अहिले यिनै सहरका उत्तरी आसपासका क्षेत्रहरु हात्ती–मानव द्वन्दका नयाँ इलाकामा रुपान्तरित भइसकेका छन्, किनकि यहाँ हात्तीको परम्परागत जैविक मार्ग भत्किसकेको छ । पचास वर्ष पहिला झापाको खुजुनाबारीमात्र प्रमुख हात्ती–मानव द्वन्दक्षेत्र थियो । तर, अहिले राजमार्ग उत्तरमा सम्पुर्ण भूभाग सम्भावित द्वन्द क्षेत्रमा रुपान्तरित भइसकेका छन् ।
यो यस्तो क्षेत्र भएको छ जहाँ हात्ती–मानव दुवैले एउटै ‘स्पेस सेयर’ गरिरहेका छन् । नेपाल र भारतका कतिपय क्षेत्रमा यि दुई बुद्धीमान प्राणीले एउटै स्पेस बाँडेर एक–अर्काको सह–अश्तित्व स्विकारिसकेको अवस्था पनि छ । यस्ता ठाउँमा दिउँसो मान्छेको राज चल्छ, राती हात्तीको । यसै उर्सुला मन्स्टरले केरलाको प्रसंगमा लेखेकी छिन्, ‘दिउँसो हात्तीको झुण्ड बस्ती तथा करिडोर छेउको जंगलमा आराम गर्छन्, साझँ–विहान या रात मान्छेलाई छल्दै विचरण गर्छन् । हात्तीको त्रासले मानिस पनि साँझ–विहान तथा राती घरबाट विरलै निस्कन्छन् ।’ यस्तो द्वन्दग्रस्तक्षेत्रमा विस्तारै एक प्रकारको रेसीप्रोकल सम्बन्ध विस्तार हुन्छ जसले मानव–हात्तीलाई सह–अश्तित्वतिर डोहोर्याएको छ । तर के सम्भव होला त सौहार्दपूर्ण सम्बन्ध !

पहिला फिरन्ते हात्तीको प्रवृतितिर लागौँ । यसमा पनि दुई किसिमका हात्ती छन् । पहिलो हो मातृसत्तात्मक परिवार । यसमा हजुरआमा, आमा, ठूलोआमा अर्थात् जेष्ठताको आधारमा मुली भएको परिवार वा झुण्ड हुन्छ जसमा छावा–छावी, किसोर–किसोरी तथा हुर्किसकेका समान वंशजका ढोइहरु हुन्छन् । यिनको निश्चत परिवार हुन्छ र खाद्य उपलब्धताको आधारमा तिनको संख्या तलमाथी हुन सक्छ । समूह तथा उप–समुहमा लामो–छोटो समयको लागि बाँडिन पनि सक्छन् । अर्को भनेको ध्रुवे तथा मकुना जस्ता बयस्क मत्ताहरु हुन् जसको कुनै निश्चित परिवार हुन्न । आवश्यकता अनुसार कुनै समूहमा मिसिन वा स्वतन्त्र विचरण गर्न सक्छन् । कहिलेकाहीँ विशेषतः मानव बस्तीमा पसेर अन्नवाली खाँदा वा वितण्डा मच्चाउँदा भने वयस्क मत्ताहरुबिच पनि सहकार्य हुने गर्छ ।

उर्सुला मन्टर लेख्छिन् कि वालीनाली नष्ट गर्ने तथा मानव बस्तीमा वितण्डा मच्चाउने कुल घटनाको ८९ प्रतिशत घटना यस्तै परिवार विहिन मत्ताहरुले घटाउँछन् । समूह वा परिवारसँगको मानव द्वन्द त मात्र दुई प्रतिशत हुने गर्छ । यसको मतलव हात्तीको मातृसत्तात्मक परिवार भने एकदमै बुद्धीमान, सहनशिल तथा मानिससँग भरसक तर्कने किसिमका हुन्छन् । र, जतिपनि गम्भिर प्रवृतिका हात्ती–मानव द्वन्दका घटना घट्छन् मुख्यतयाः ध्रुवे र मकुना जस्ता भर्खर वयस्क भएका अल्लारे मत्ताहरुकै कारण घट्ने गरेको पाइन्छ ।

डा रमन सुकुमारका अनुसार, यी अल्लारेलाई शारीरिक विकासको लागि अत्यधिक प्रोटिन तथा क्यालोरीयुक्त खाना चाहिन्छ । फलस्वरुप, उनीहरु जोखिम मोल्दै मानव बस्तीमा छिर्छन्, धान, गहुँ, उखु तथा फलफूल ताक्छन् । सुरुमै मानिससँगको मुठभेडमा आइसकेपछि उनीहरु झन् उग्र बन्छन् । त्यसो त यि अल्लारेहरु अरु वयस्क मत्ताद्वारा आफ्नो परिवारबाट लखेटिएका हुन्छन् जसका कारण पनि उनीहरु मानसिक तनावबाट गुज्रिरहेका हुन्छन् । त्यस्तै यस्ता अल्लारे मत्ता निस्कनुको श्रीलंकाको उदाहरुण दिदैँ फ्रेड कुर्जले अर्को तर्क ते¥स्याएका छन् । शिकारका क्रममा त्यहाँ छानी–छानी ‘टक्सर’ (दारा भएका यहाँ विशेषतः वयस्क मत्ता) मारियो । यसले गर्दा त्यहाँ मत्ता र ढोइबीच लैङ्गिक अनुपातमा फरक पर्न गयो । समूहमा न्यून मत्ता हुँदा नयाँ किसोरहरुलाई नियन्त्रण कम भयो र उनीहरु उदण्ड भएर निस्किए ।

फेरि केरलाको केसलाई हेरेर डा अरुण जाचरियाको तर्क यो छ कि किसोरहरुले जोखिम मोलेर मानव बस्तीमा छिरेर अन्नवाली नष्ट गर्ने काम अरु वयस्क मत्ताहरुबाट सिक्छन् । कतिपय अवस्थामा पाँच–६ मत्ताको झुण्ड मिलेर संघठनात्मक रुपमानै मानव बस्तीमा हस्तक्षेप गर्ने गर्छन् । कतिपयले भने वाली नष्ट गर्ने आमाबाट पनि यो प्रवृति सिकेका हुन्छन् ।
नेपालमा उदण्ड मत्ता निस्कनुका पछि पनि विभिद कारणहरु हुन सक्छन् । जहाँसम्म मकुना र ध्रुवेको कुरा छ, श्रीलंका र केरलाको भन्दा पृथक कारण हुन सक्छ । त्यसो त हात्तीका छावाहरुलाई आफ्नै झुण्डभित्र विशिष्ट शिक्षण सहित हुर्काइन्छ । हजुरआमा,  तथा आमाहरुद्वारा झुण्डभित्रको अनुशासन सिकाइन्छ । अरु जनावरसँग गर्ने ब्यवहार तथा मानिससँग कसरी तर्कने भन्ने सिकाइन्छ । सिजन अनुसार खानेकुरा तथा पानी उपलब्ध हुने स्थान तथा एक चरण क्षेत्रबाट अर्को चरण क्षेत्रसम्म पुग्ने सुरक्षित जैविक मार्ग (बायोलोजिकल करिडर)को बारेमा जानकारी दिइन्छ ।

समस्या यहाँ छ कि मानविय हस्तक्षेपका कारण पार्क तथा संरक्षण क्षेत्र बाहिरका हात्ती विचरण गर्ने क्षेत्र, चरण क्षेत्र तथा तिनका परम्परागत करिडोर अर्थात हात्ती डाँडीमापनि बदलाव आइरहेको हुन्छ । झुण्डबाट एक्लिएका नव वयस्क मत्ता तथा किसोरहरु परम्परागत शिक्षणको ठीक विपरीत अनपेक्षित रुपमा मानव बस्ती तथा अन्य ब्यावधानबाट गुज्रन्छन् । अब झुण्डको सिकाइप्रति तिनको विश्वास गुम्छ । मानवसँगको अनपेक्षित मुठभेडले तिनलाई उदण्ड र अराजक बनाइदिन्छ । यहि प्रकृयाबाट एकाध ध्रुवे र मकुना जस्ता मत्ताहरु निस्कन्छन् । मानविय हस्तक्षेपका कारण एक अर्को चरण क्षेत्र जोड्ने बायोलोजिकल करिडोर ध्वस्त हुनु नै ध्रुवे र मकुना जस्ता हिंस्रक हात्ती निस्कनुको प्रमुख कारण हो । अर्थात ‘एन्थ्रोपोजेनिक’ हस्तक्षेप नै उदण्ड मत्ता उत्पादन गर्ने प्रमुख कारखाना हो ।

पूर्वी नेपालका प्रायजसो परम्परागत हात्ती डाँडीहरु मासिइसकेका छन् । त्यसैले पनि एकाध हुल्याहा हात्ती मारिदैँमा या तह लाग्दैमा हात्ती–मानव द्वन्द्वको दीर्घकालीन समाधान हुँदैन । यसको दीर्घकालीन समाधानका लागि यस्ता ‘जुभेनल’ मत्ताहरु उत्पादन गर्ने कारखाना सदाको लागि बन्द गर्नुपर्छ ।
यसको मतलव हात्तीको अस्तित्वलाई नजरअन्दाज गर्नु होइन । किनकी हात्ती र मानवको सहअस्तित्व एकआपसमा जोडिएको छ ।

बिचको क्लिभ जि जोन्स तथा जोन एच लावटनलगायतको अनुसन्धान अनुसार, मानिस र हात्ती दुवै विशिष्ट र महत्वपुर्ण ‘इकोसिस्टम इन्जिनियर’ हुन् । दक्षिण एशियाको पर्यावरणमा र अहिलेको वर्तमान ल्याण्डस्केप निर्माण गर्न यि दुवैको भूमिका उत्तिकै छ । दक्षिण एशियामा घना जङ्गलमा हात्ती हिड्ने बाटो पछ्याएर नै मानिसले जङ्गल चहारेका मात्रै थिएनन् यही हात्तीलाई सदाएर ठूला–ठूला टिम्बर निकासी पनि गरेका थिए । मानिस र हात्तीले एउटै रुट प्रयोग गर्ने परिपाटी इतिहासदेखिकै हो ।

पौल जे केलको आसामको अनुसन्धान अनुसार आसामका कतिपय क्षेत्रमा आजपनि हात्ती र मानिसले एउटै बाटो र गौँडा उपयोग गरिरहेका छन् । यस्तो मार्गलाई त्यहाँ हात्ती डाँडी भनिन्छ । डोना हरावेले पनि ह्वेन स्पेसिस मिटमा कसरी एक प्राणीले निर्माण गरेको गोहोबाट अन्य प्राणीपनि गुज्रन्छन् र कालान्तरमा त्यो बाटो एकअर्काको सम्पर्कस्थल बन्न पुग्छ भन्ने उल्लेख गरेकी छिन् । ठ्याक्कै त्यस्तै आज पुर्वी नेपालका अधिकांश परम्परागत हात्तीमार्ग मानिस र हात्तीबिचको सम्पर्कस्थलमा बदलिएका छन् ।
यो भिमकाय साहाकारीको पर्यावरणीय देनलाई नजर अन्दाज गर्न सकिन्न । यसलाई अत्याधिक खाना चाहिन्छ त्यसैले यसले कतिपय वनस्पतीलाई अनावश्यकसँग बढ्न दिँदैन । यसले कोसौकोस टाढाबाट थासोको माध्यमबाट विभिन्न वनस्पतीका बिउ–बिजन ओसारपरास गरिदिन्छ । कैयौँ प्रकारका स–सना प्रजातिको सिङ्गो जीवनचक्र हात्तीको थासोमै बित्ने गर्छ । हात्ती र मानव दुवैले दक्षिण एशियाको पर्यावरणीय सन्तुलनमा महत्वपूर्ण योगदान दिएका छन् । यि दुवै एकअर्काका परिपुरक पनि हुन् । एन्थ्रोपोजेनिक हस्तक्षेप अत्याधिक भएको वर्तमान परिवेशमा हात्ती–मानव दुवैले सँगसँगै सहअस्तित्व स्विकार्नुको विकल्प पनि छैन ।

सबैभन्दा ठूलो विडम्बना यो छ कि त्रासैत्रासमा हात्तीसँगको सहअस्तित्व जोगाएर बाँच्न विवश चाहीँ दिनहिन र सिमान्तिकृत नै छन् । विपन्न एवं जल, जमिन र जंगलमा आश्रित समुदाय नै करिडोर र मध्यवती क्षेत्रमा बस्ने गर्छन् । उनीहरुसँग सुरक्षित स्थानमा सर्ने हैसियत पनि हुँदैन । यही वर्ग तथा समुदायले नै हात्ती आतङ्कका कारण जनधनको क्षति ब्यहोरिरहनुपरेको छ । यो यो द्वन्द सिर्जनुमा तिनको हात छदैँ छैन भन्दा पनि हुन्छ किनकी चारकोसे झाडी लगायतका हात्तीमार्ग मासेर अकुत कुम्ल्याउने त शासक वर्ग नै हुन् । यो आतङ्कका मुख्य जिम्मेवार शासकहरु नै हुन् ।

चारकोसे झाडी मासेर महेन्द्र राजमार्ग निर्माण भइ त्यस आसपासमा बस्ती विस्तार हुनु अघि दक्षिणी तराई परम्परागत राजवंशी, घिमाल र संथाल बस्तीमा हात्ती आतङ्क थिएन ।
अहिले मुख्यतया कृषिमा आश्रित समुदायनै हात्ती आतङ्कको चपेटामा छन् । फेरी हात्तीजस्ता पर्यावरणीय प्राणी विनास भई निम्तने पर्यावरणीय असन्तुलन तथा जलवायु परिवर्तनका कारण हुने विपतको पहिलो शिकारपनि यिनै जल, जमिन र जङ्गलमा आश्रित भूईँमानिसहरु हुने गर्छन् । तसर्थ हात्ती–मानव सहअस्तित्वको महत्व पनि यिनलाई नै हुन्छ ।

हात्ती–मानव द्वन्द समाधान र न्युनिकरण गर्दै जनधनको रक्षा गर्न दक्षिण एशियामा थुप्रै विधिहरु अपनाइएका छन् । हात्ती छिर्ने गौँडामा पर्खाल लगाउने, विधुतिय तारबार गर्ने, हात्ती तर्साउन बाघको आवाज निकाल्ने यन्त्र राख्ने, माहुरीका घार राख्ने, पटका पड्काएर हात्ती तर्साउने जस्ता कैयौं विधि अपनाइदै आइएको छ । यद्यपि यि कुनै पनि विधि दीर्घकालीन रुपमा प्रभावकारी भएका छैनन् । जुनसुकै अवरोध खडा गरेपनि त्यसले एक–दुई पटक काम गर्छ । तर बुद्धीमान हात्तीले कि त त्यसको विकल्प खोज्छ या त्यसमा अभ्यस्त भइहाल्छ । उर्सुला मन्टर लेख्छिन्, ‘हात्तीले तुरुन्तै हामीले खडा गरेको ब्यावधान पन्साउन सिकिहाल्छ . . . केही हात्ती त पर बसेर घण्टौंसम्म मानव कृयाकलाप हेर्छन् र त्यही अनुरुप अनुशरण गर्छन् ।’

कतिसम्म भने तिनले सुकेको काठ उचालेर विद्युतिय तार तोड्छन्, कि त नजिकैको रुख लडाएर नछुइकन बार भत्काउँछन् । त्यसैले त मन्सटर भन्छिन्, हात्ती–मानव द्वन्द समाधान गर्नु छ भने मानिसलाई जीतै हात्तीलाई पनि बुद्धमान प्राणी सम्झेर तिनको सामाजिक, ऐतिहासिक तथा मानसिक आधारमा बुझ्नुपर्छ, ब्यवहार गरिनुपर्छ ।

निश्चय नै ध्रुवे र माकुनाहरु मारिदैँमा हात्तीहरु तह लाग्दैनन् । यसको दीर्घकालीन समाधानको लागि सर्वप्रथम त मृत भइसकेका हात्ती डाँडीहरु पुनर्जिवित गरिनुपर्छ । एक चरण तथा बासस्थानबाट अर्को अर्कोमा आवतजावत गर्ने सहज वातावरण सिर्जनुपर्छ । पार्क तथा करिडोर क्षेत्रमा हात्तीका रुचिका खाद्यान्न प्रजातिका वनस्पतीहरु हुर्काउनुपर्छ ताकी उनीहरु कृषकका अन्नबाली र सागसब्जीमा नलोभिउन् । यति गरेपछि निश्चयनै हात्तीको झुण्ड परम्परागत रुटमा फर्कनेछन् । सिकाइमा यिनीहरु मानिस जत्तिकै अब्बल हुन्छन् ।

अफ्रिकाको थुला-थुला सिजर्भको अनुभव एउटा उदाहरण हो । नजिकैको अर्को सिजर्भमा एउटा उद्वण्ड हात्तीको झुण्डले वितण्डा मच्चाइरहेको थियो । त्यस झुण्डका वयस्क र आक्रमक हात्तीलाई मार्न तथा अन्यलाई चिनको सर्कसमा बेच्न लागिएको थियो । केही हात्ती मारिसकिएको थियो भने यसै घटनाका कारण बाँकी हात्तीपनि मानिसप्रति झनै आक्रामक भएर निस्किएका थिए । थुला-थुलाका सञ्चालक एन्थोनी लरेन्सले यो उग्र फिरन्ते झुण्डलाई आफ्नो रिजर्भमा ल्याएर कजाएर राख्ने शाहस गरे ।

पहिला त उनले इलाकालाई विद्युतिय तारले बारे र बचेका ६ वटै हात्तीलाई डार्टगरि ल्याए । शुरुरुशुरुमा त हात्तीहरु त्यहाँबाट भागेर पुरानै ठाउँ जान खोजे । लरेन्समाथि नै पटक–पटक आक्रमण गर्न खोजे । अनेक तरिकाबाट लरेन्सले यो झुण्डसँग संवाद गर्ने कोशिस गरे । अनततः विस्तारै यो उग्र झुण्ड विश्वस्त भयो कि लरेन्सले तिनकै भलाइको लागि यो सब गरिरहेका छन् । अब लरेन्स र यो झुण्ड घनिष्ट साथी जस्तो बन्छन् । हात्तीको मानवप्रति एकदमै आक्रामक यो समुहले अन्ततः मानिससँगको सहअस्तित्व स्विकार्छ ।

अहिलेसम्म हामीले आफुलाई मात्रै बुद्धिमान सम्झियौं र हात्तीलाई मूर्ख । दक्षिण एशियामा हात्ती–मानव द्वन्द व्यवस्थापनको काम गरियो, हात्तीलाई झुक्याउने मात्र काम भयो । तर यसको दिगो व्यवस्थापनको लागि अब जतिसक्दो चाँडो मृत करिडोरहरु ब्युँझाउनुपर्छ, आवश्यक खाद्य श्रृंखला पार्क तथा करिडर क्षेत्रमा व्यवस्था गर्नुपर्छ र त्यसमा तिनलाई अभ्यस्त बनाउनुपर्छ । अनि मात्रै हामी ध्रुवे र माकुना जनमाउने संयन्त्र बन्द गर्न सक्छौं ।

थम भ्यान डोरेन भन्छन्, ‘हात्तीसँग नयाँ परिस्थिति आत्मसाथ गरेर त्यसै अनुरुप रुपान्तरण हुन सक्ने विशिष्ट क्षमता हुन्छ । परिस्थिति अनुसार तत्कालै सिकेर र बुझेर त्यसमा अभ्यस्त भइहाल्छन् ।’ यही गुणका अनुसार उर्सुला मन्सटर भन्छिन् कि हात्तीलाई पुन अनुशासित बनाउन सकिन्छ, तिनले पनि मानिसलाई सम्मान दिन थाल्नेछन् । यो भिमकाय बुद्धिमान साहाकारीले मानिसलाई राम्ररी बुझ्छ, बुझेको पनि छ तर अहिलेसम्म हामीले यसलाई बुझ्ने कोशिस गरेनौं । त्यसैले हात्ती–मानव द्वन्दको दीर्घकालीन समाधान र सहअस्तित्वको लागि एन्थोनी लरेन्सले जस्तो ‘जङ्गली’ भनिएका फिरन्ते हात्तीसँग संवाद गर्नुपर्छ । र, यी संवादकर्ता पनि हात्तीसँग नियमित सम्पर्क भइरहने जुझारु स्थानियहरुनै हुनुपर्छ । संवादद्धारा नै तिनलाई परम्परागत करिडोरमा फर्काउँदै अन्नवाली विनास गर्ने तथा मानिसप्रति आक्रामक हुने तिनको आदत बदल्न सकिन्छ । र, सदाको लागि ध्रुवे र माकुना उत्पादन हुने कारखाना बन्द गर्न सकिन्छ ।

(वन्यजन्तु करिडरका विषयमा अनुसन्धानरत युवराज भट्टराईको कालो डोहोरोः रिम्यापिङ द भ्यानिसिङ एलिफेन्ट ट्रायल इन एस्ट्रन नेपाल डकुमेन्ट्री निर्माणाधीन छ ।)

 



प्रतिक्रिया दिनुहोस्

Screenshot