Logo

निगमसँग रहेका चिनियाँ जहाजको व्यवस्थापन हुने



काठमाडौं, चैत १९ । सरकारी निर्णयअनुसार नेपाल वायुसेवा निगमसँग रहेका ६ ओटा चिनियाँ जहाजको व्यवस्थापन हुने भएको छ । चिनियाँ जहाज प्रभावकारी रूपमा सञ्चालन तथा व्यवस्थापन हुन नसक्दा आर्थिक भार बेहोरिरहेको निगमका लागि यो व्यवस्थापन निकै ठूलो उपलब्धि हो ।

निगमसँग दुईओटा ‘एमए ६०’ र चारओटा ‘वाई १२ ई’ गरी ६ चिनियाँ जहाज छन् । यी जहाज आन्तरिक उडान प्रयोजनका लागि ल्याइएको थियो । एक एमए ६० र एक वाई १२ जहाज नेपालले चिनियाँ सरकारबाट अनुदानमा प्राप्त गरेको थियो । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले सरकारलाई प्राप्त अनुदानको दुई जहाजबापत थप एक एमए ६० जहाज र तीन ओटा वाई १२ जहाज सहुलियतपूर्ण ऋणमा चीनको विमान उत्पादन गर्ने कम्पनी ‘एभिक इन्टरनेशनल’बाट खरीद गरेको थियो ।

लोड पेनाल्टी, बीमा, पार्ट्सको आपूर्ति, महँगो पाटर््स, महँगो ‘सिमुलेटर’ तालीमलगायत कारण चिनियाँ जहाजको सञ्चालनमा निगमले ठूलो आर्थिक नोक्सानी बेहोर्दै आएको थियो । निगमका सह–प्रवक्ता सुलेख मिश्रका अनुसार २०७७ असार १६ गतेको सञ्चालक समितिको वैठकले सोही वर्षको साउन १५ गतेदेखि सम्पूर्ण चिनियाँ जहाज ‘ग्राउन्डेड’ गर्ने निर्णय गरेको थियो । चिनियाँ जहाजँमध्ये पाँचओटा मात्र सञ्चालन योग्य छन् । एक बिग्रिएको छ । नाइन एन एकेयु कलसाइन जहाज २०७६ चैत १५ गते नेपालगञ्जस्थित धावनमार्गमा दुर्घटना भई सञ्चालन गर्न नमिल्ने अवस्थामा छ । बाँकी पाँच विमानका लागि ‘लिजआउट’ गर्ने निगमको योजना छ ।

निगमले २०७० साल र त्यसपछि विभिन्न मितिमा चिनियाँ जहाज भित्रयाएको थियो । २०७१ सालदेखि आन्तरिक उडानमा चिनियाँ जहाज प्रयोग भएको थियो । निगमले चिनियाँ जहाज ग्राउन्डेड गरेदेखि सरकार समक्ष सोको व्यवस्थापनका लागि पत्राचार गर्नुका साथै उपयुक्त व्यवस्थापनका लागि अनुरोध गर्दै आएको थियो ।
सरकारले केही महिनादेखि उक्त जहाज व्यवस्थापनका लागि प्रक्रियागत चरण र सुक्ष्म अध्ययन विश्लेषणपछि व्यवस्थापनका लागि निर्णय गरेको थियो । निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार २०७७ चैत ४ गते अर्थमन्त्रीको मन्त्रिस्तरीय निर्णयबाट निगमले चिनियाँ जहाजको व्यवस्थापनसम्बन्धी मार्ग प्रशस्त भएको छ । प्रवक्ता श्रेष्ठले चिनियाँ जहाजको स्वामित्व हस्तान्तरण नगरी नेपाल सरकार र निगमको अधिकतम हित हुनेगरी स्वदेशी वा विदेशी वायुयान सञ्चालकलाई लिजमा सञ्चालन गर्न दिन खुला प्रस्ताव आह्वान गरी लिजआउट गर्ने बताइन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot