Logo

भू-माफियाद्वारा विशंखुनारायण मन्दिर जाने बाटो नै गायब



ललितपुर, २५ चैत्र । यो दृश्य गोदावरी नगरपालिकालाई महालक्ष्मी नगरपालिकासँग जोड्ने पर्यटकीय मार्ग रहेको स्थान हो । २४ चैत्रसम्म यहाँ सुन्दर बाटो थियो । हरिया वनको बीचको यो मार्गले विशंखुनारायण मन्दिर र विश्वामित्र गणेशस्थानलाई जोड्दछ । तर, २५ चैत्रको विहान उठ्दा यहाँ बाटो नै गायब पारिएको छ ।

भूमाफियाले वन नै सखाप पारेर यहाँ माटो निकालिरहेका छन् । बाटो नै गायब पारिएको छ । विगतमा सामान्य अवस्थामा पनि पहिरो गइरहने यो बाटो अहिले खारेर सामान्य भन्दा चार मिटर गहिरो बनाइएको छ । यसले उक्त स्थानमा भविष्यमा दुर्घटना निम्तने खतरा बढेको छ ।

सार्वजनिक बाटो नै गायब पारेर डोजर लगाएको विषयमा गोदावरी नगरपालिका १ का वडाध्यक्ष हरिहर कार्कीलाई सोध्दा त्यो कम्पनीले लिएर डोजर लगाइरहेको जवाफ दिए । बाटो नै गायब पारिएको छ नि भनी सोध्दा उनले आजै गएर हेर्ने जवाफ दिए ।

पछिल्लो समय गोदावरी नगरपालिकामा पर्ने विशंखुनारायणको जङ्गल क्षेत्र व्यापक दोहन गरिएको छ । बाटोहरु भत्काएर भूमाफियाले आफ्नो स्वार्थपूर्ति गर्न थालेका छन् । बाटो नै सार्ने देखि भाँस्ने गतिविधिहरु हुनथालेको छ । तर, गोदावरी नगरपालिकाले यसलाई आँखा चिम्लिएको छ ।

व्यापक जङ्गल दोहनले विशंखुनारायण क्षेत्रमा पर्यावरणमा असर परेको छ । त्यस क्षेत्र प्रदूषित भएको छ । डाँडाहरुमा जोखिम बढेको छ । पहिरोको जोखिम बढ्न गई ज्यान जाने खतरा समेत भएको छ ।

तस्बिरः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्