Logo

प्रधानमन्त्री ओली देखि पूर्वराजा ज्ञानेन्द्रसम्मको ‘धर्मास्त्र’



काठमाडौं, २९ चैत्र । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सार्वजनिक कार्यक्रममा गेरु रङ्गको वस्त्रमा देखिनथालेका छन् । ठाकुर प्रधानमन्त्रीको दाबेदार देखिइरहँदा उनी गेरु वस्त्रमा देखिनु अर्थपूर्ण छ । यसलाई उनको हिन्दु धर्मप्रतिको सकारात्मक सन्देशका रुपमा लिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको विशेष पूजा गरेका थिए । सत्ता संकट बढ्दा उनले पशुपतिनाथको पूजा गर्नुले तरंग आयो । कम्युनिस्ट नेताको पशुपतिनाथको दर्शनको आलोचना पनि भयो । तर, उनले मन्त्रिपरिषदबाट पशुपतिनाथमा सुनको जलहरी चढाउने निर्णय नै गराए ।

ओलीले मात्र नभई पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि पशुपतिनाथको दर्शन गरे । कम्युनिस्ट नेताको पशुपतिनाथको तीर्थाटनलाई धर्मास्त्रका रुपमा लिइएको छ । धर्मको मुद्दा नेपालको राजनीतिमा जर्बजस्त प्रवेश गरेको घटनाक्रमले पुष्टि गर्दै लगेको छ ।

आज पूर्वराजा ज्ञानेन्द्र शाहले भारत पुगेर बाह्य दवा, प्रभाव र प्रलोभनले धर्म र संस्कृतिमाथि चुनौती आएको बताएका छन् । उनले धर्म संस्कृति बचाउनुपर्नेमा जोड दिएका छन् । उनले संस्कृतिको रक्षा गर्नुका साथै मठ मन्दिर, देवस्थल र धामहरुको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

‘हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ,’ भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा आज सम्बोधन गर्दै भने,‘हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो ।’

पूर्वराजाले हिन्दु सभ्यता, हिन्दुत्व र सनातनिक आर्य संस्कृति अनि वेद उपनिषद् पुराणहरुको महत्वबारे चर्चा समेत गरे । शाहले पछिल्लो समयमा धर्मको मुद्दालाई प्रत्यक्ष अप्रत्यक्ष उठाउँदै आएका छन् ।

नेपालमा हिन्दुराष्ट्रको मुद्दा उठाउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रमुख दल हो । उसले हिन्दुराष्ट्र स्थापनामा जोड दिदै आएको छ । तर, राप्रपा कमजोर शक्ति बन्दा अन्य दलभित्र यो एजेन्डा बलियो बन्दै गएको छ ।

नेपाली काँग्रेसभित्र हिन्दुराष्ट्रको मुद्दा उठ्ने गरेको छ । महामन्त्री डा. सशांक कोइरालाले यो विषयलाई बेला बेलामा उठाउँदै आएका छन् । केन्द्रीय सदस्य शंकर भण्डारीलगायत नेताहरु खुलेरै हिन्दु राष्ट्रको पक्षमा देखिएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले पनि यसै वर्षको शुरुतिर महायज्ञ लगाएका थिए । यसलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

अहिले राजनीतिक दलहरुभित्र धर्मको मुद्दा जर्बजस्त बलियो बन्दै गएको छ । विशेषगरी धर्मनीरपेक्षका विरोधीहरु बलियो बन्दै गएका छन् । राप्रपाको आधिकारिक लाइन नै हिन्दु राष्ट्र हो । तर, काँग्रेस मात्र नभई कम्युनिस्ट पार्टी एमालेभित्र पनि यो मुद्दा विस्तारै आन्तरिक रुपमा उठ्दै गएको छ । पूर्व राजाले यही मौकामा भारतमा पुगेर हिन्दुत्व र धर्म संस्कृतिको रक्षाको विषयमा बोलेका छन् । उनले पनि धर्मास्त्रको प्रयोग गरेर राजनीतिमा नयाँ तरंग ल्याइदिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot