बाँके ६ बैशाख । सामाजिक भेदभाव र लाञ्छनाका कारण बाँकेमा कुष्ठरोगको रोकथाम प्रभावकारी हुन सकेको छैन । रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालय आइएनएफलगायतका सरोकारवाला निकायले पहल गर्दै आए पनि बिरामी प्रत्येक वर्ष थपिँदै आएको स्वास्थ्य कार्यालयका अधिकृत एवं क्षय कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले जानकारी दिए ।
“कुष्ठरोगप्रतिको धारण गाउँ समाजमा परिवर्तन हुन सकेको छैन, बिरामीलाई गरिने लाञ्छना र भेदभावले कुष्ठरोगको स्थिति ज्यूँका त्यूँ छ”, नेपालीले भने, “औषधि सेवन गरे निको भइहाल्ने भए पनि भेदभाव र लाञ्छनाले बिरामी नखुल्ने र गाउँघरमा प्रभावकारी उपचार नहुने हुँदा कुष्ठरोग बढ्दै गएको छ ।”
उनका अनुसार बिरामीसँग सामान्य लसपसबाट यो रोग सर्दैन । यो रोग लागेका बिरामीलाई पूर्वजन्मको पाप तथा देवीदेवताको श्राप हो भनेर छुवाछूत गर्ने मानसिकता अझै हट्न नसकेका कारण रोकथाममा चुनौती थपिएको छ ।
बाँकेमा गत आर्थिक वर्षमा १३३ कुष्ठरोगका बिरामी थिए भने यस आर्थिक वर्षको पुस मसान्तसम्म ५३ बिरामी पहिचान भई विभिन्न अस्पतालबाट उपचार लिइरहेका छन् । गत आर्थिक वर्षमा पहिचान भएका १३३ कुष्ठरोगीमध्ये २९ महिला र ४२ पुरुष जटिल अवस्थाका र ३४ महिला तथा २८ पुरुष सामान्य अवस्थामा रहेका थिए ।
जटिल अवस्थामा रहेका रोगीलाई कम्तीमा १२ देखि २४ महीना नियमितरुपमा औषधि सेवन गर्नुपर्ने हुन्छ भने सामान्य अवस्थाका रोगीले कम्तीमा छ महीना सेवन गर्नुपर्ने स्वास्थ्य कार्यालयका अधिकृत एवं क्षय कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले जानकारी दिए ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्म पहिचान भएका ५३ कुष्ठरोगीमध्ये नौ महिला र १९ पुरुष जटिल अवस्थाका तथा १२ महिला र १३ पुरुष सामान्य अवस्थामा रहेका छन् । बाँकेको जानकी गाउँपालिकामा यस वर्ष सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिकामा १४ कुष्ठरोगी फेला परेका छन् । यसैगरी जानकी गाउँपालिकामा १०, नरैनापुर गाउँपालिकामा सात, खजुरा गाउँपालिकामा छ, कोहलपुर नगरपालिकामा पाँच, बैजनाथ गाउँपालिकामा पाँच, डुडुवा गाउँपालिकामा पाँच र राप्तीसोनारी गाउँपालिकामा एक कुष्ठरोगी फेला परेका हुन् ।
स्वास्थ्य संस्थामा जाँच गर्न आएका व्यक्ति, उनीहरुको सम्पर्कमा रहेका घरपरिवारका व्यक्तिको जाँच र आइएनएफले सञ्चालन गरेको साइनिङ अस्पतालमा उपचारका लागि आएका बिरामीबाट कुष्ठरोगीको पहिचान गरिँदै आएको स्वास्थ्य कार्यालयका प्रमुख धीरजङ्ग शाहले बताए ।
उहाँले स्वास्थ्यचौकीसम्म पुग्न नसकेका, लुकीछिपी बसेका जिल्लाका कुष्ठरोगीलाई पु¥याउन सरोकारवाला निकायसँगको समन्वयमा कार्यक्रम निरन्तररुपमा सञ्चालन भइरहेको बताए । बाँकेमा विभिन्न ठाउँबाट स्थानान्तरण भएर आउने, नियमित उपचार लिन नआउने, रोगबारे जानकारी नराख्ने, रोग लुकाउन खोज्नेजस्ता कारणले कुष्ठरोगका बिरामी बढ्दै गएको शाहको भनाइ छ । रासस