Logo

वीर अस्पतालको कन्तबिजोग शय्या छ अक्सिजन छैन



काठमाडौं, जेठ २ । सरकारको गैरजिम्मेवारपनका कारण काठमाडौंको मुटुमा रहेको वीर अस्पतालले अक्सिजन अभावका कारण आफ्नो नयाँ भवन सञ्चालन गर्न सकेको छैन । अस्पताल प्रशासनले नयाँ सर्जिकल भवनको दुईवटा तलामा कोभिड संक्रमित बिरामीका लागि भन्दै १ सय ७० बेड तयार गरिसकेको छ । तर, अक्सिजनको अभावका कारण बिरामी भर्ना लिन सकेका छैनन् ।

ट्रमा सेन्टरलाई पनि कोभिड अस्पताल घोषणा गरियो तर त्यहाँ पनि अक्सिजन नभएकै कारण कोरोना संक्रमितलाई भर्ना लिएर उपचार गर्न सकेको छैन । वीर अस्पतालको नयाँ भवनमा बेड र अक्सिजनको व्यवस्था गरेर ५ तलासम्ममा बिरामी राखेर उपचार गराउन सकिने र बिरामीको अत्यधिक चाप रहेको अवस्थामा ७ सयसम्म बिरामीलाई उपचार गर्न सकिने अस्पताल प्रशासनले बताइरहेको छ । तर, समस्या अक्सिजनकै छ ।नयाँ भवनमा बिरामी राख्नका लागि सबै तयारी पूरा भएको छ तर अक्सिजन नभएपछि कोरोना संक्रमितलाई राखेर उपचार शुरु गर्न सकिएको छैन ।

अस्पताल प्रशासनको अनुसार पहिलो चरणमा १ सयदेखि ३ सय शय्यासम्म सञ्चालन गर्ने योजना थियो । त्यति बिरामी राख्नका लागि कम्तीमा ६ सय सिलिन्डर अक्सिजन आवश्यक पर्न जाने भएकाले बिरामी राख्न नसकिएको अस्पताल प्रशासनको भनाइ छ । वीर अस्पतालका निमित्त निर्देशक डा। शान्ता सापकोटाले सरकारको निर्देशनानुसार नयाँ भवन सञ्चालनका लागि तयार गरिए पनि अक्सिजन नपाइएपछि सञ्चालन हुन नसकेको बताउनुभयो । दैनिकजसो कोरोना संक्रमितले अक्सिजन अभावका कारण ज्यान गुमाइरहेको अवस्था छ ।

नेपालमा अहिले दैनिक १५ हजार अक्सिजन सिलिन्डरको माग छ तर ७ हजार २ सय मात्र उत्पादन हुने गरेको तथ्यांक अक्सिजन उत्पादक एसोसियसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाएको छ । अक्सिजनको अभावका कारण वीर, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताललगायतमा शय्या खाली छन् ।

वीर अस्पतालका एक स्वास्थ्यकर्मी बताउँछन्– ‘यति बेला शय्या र स्वास्थ्यकर्मीले मात्र केही हुन्न । पहिला अक्सिजन अनि मात्र बेड र स्वास्थ्यकर्मी भन्नुपर्ने बेला आएको छ ।’बिरामी आए भन्नासाथै मलीन स्वरमा अक्सिजन छैन, बेड त जेनतेन मिलाउँला अक्सिजन आफैं व्यवस्था गर्नुहुन्छ भने मात्र बस्नुस् भन्न बाध्य भएको धुलिखेल अस्पताल कोभिड व्यवस्थापन शाखाका प्रमुख डा। सानुकृष्ण श्रेष्ठ बताउनुहुन्छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्