Logo

इलामबाट हारको ‘ह्याट्रिक’ गरेका डम्बर



काठमाडौं,१८ वैशाख । संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको इलाम २ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ निर्वाचित भए । आज बिहान सकिएको मतगणनामा सुहाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई भारी मतले पराजित गर्दै निर्वाचित भएका हुन् ।

आज सकिएको मत गणनामा सुहाङले २७ हजार ७७२ मत ल्याउँदा पराजित भएका खड्काले २१९४२ मत पाए । खड्का र सुहाङबीचको मतान्तर ५ हजार ८३० को रह्यो । खड्का तीनै उम्मेदवार हुन् । जो ०७९ को मंसिरको निर्वाचनमा पनि सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए । त्यतिबेला नेम्वाङभन्दा मात्र ११४ मतले पछि परेका खड्का अहिले भने भारी मतले पछि परे । अघिल्लो पटक नेम्वाङ ३००२० मत ल्याएर निर्वाचित हुँदा खड्का २९९०६ मतमा रोकिए ।

उपनिर्वाचनलाईसमेत जोड्दा खड्काले इलामबाट हारको ह्याट्रिक गरेका छन् । यसअघि खड्का ०७४ सालको प्रदेश सभा निर्वाचनमा पनि पराजित भएका थिए । उक्त प्रदेश सभामा एमालेका राम राना विजयी हुँदा खड्का पराजित भए । रानाले १८३११ मत ल्याउँदा खड्का १५१०४ मतमा रोकिएका थिए । खड्का कांग्रेस इलामा जिल्ला सभापतिसमेत हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot