Logo

मध्यपुरथिमि नगरपालिकाको उच्च प्राथमिकता शिक्षा, स्वास्थ्य र रोजगारी



—रमेश गिरी भक्तपुर, ८ असार: बहुमत र अल्पमतको अन्तरले हरेकवर्षको बिवादै बिवाद र आरोप प्रत्यारोपमा जेलिने मध्यपुरथिमि नगरपालिकाको नगरसभा यसवर्ष भने सर्वसम्मतले नीति तथा कार्यक्रम पारित गर्दै उदाहरणीय नमूना देखाएको छ ।

विवादकै कारण पाँच वर्षमा पाँचवटा मात्रै नगरसभा आयोजना गरेको यो नगरपालिकाले यसवर्ष भने कुनै विवाद नगरी शिक्षा, स्वास्थ्य र रोजगारीलाई उच्च प्राथमिकतामा राखेर सर्वसम्मतले नीति तथा कार्यक्रम पारित गरेको हो ।

नगरपालिकाले शिक्षातर्फ संस्थागत विद्यालयबाट दिइनुपर्ने १० प्रतिशत र नगरपालिकाबाट स्वामित्व ग्रहण गर्ने पाँच प्रतिशत छात्रबृत्ति गरिब तथा जेहेन्दार विद्यार्थीलाई उपलब्ध गराइनेछ, नगरपालिकाले सञ्चालन गर्ने कक्षा ८ को परीक्षाको परीक्षा शुल्क, मार्कसीट तथा सर्टिफिकेट निःशुल्क विद्यार्थीलाई उपलब्ध गराउने, विद्यालयको कक्षा ६ मा लागू गरिएको स्थानीय पाठ्यक्रम तथा कक्षा ५ र ७ को पाठ्यक्रम “मध्यपुर थिमि म्हसिकाः” (मध्यपुर थिमिको परिचय) लाई अन्तिम रूप दिइने भएको छ । बाल विकास शिक्षक र कार्यालय सहयोगीलाई सङ्घीय सरकारबाट उपलब्ध हुने पारिश्रमिक बराबर थप गरी एकमुष्ठ पारिश्रमिक उपलब्ध गराउने कार्य यही आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याउने, सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने, सामुदायिक विद्यालयका सबै छात्रालाई निःशुल्क स्यानेटरी प्याडको व्यवस्था गर्ने, मापदण्ड पूरा भएका विद्यालयलाई कक्षा १ देखि ९ सम्म कक्षा सञ्चालन गर्न अनुमति दिने निर्णय पारित गरेको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्यतर्फ कोरोना सङ्क्रमण नियन्त्रण, परीक्षण र उपचारलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ । कोरोनाको तेश्रो लहर आउने सम्भावनालाई मध्यनजर गर्दै कोभिड–१९ को परीक्षण वडागत सिफारिसका आधारमा नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल र अन्य उपयुक्त स्थानमा निःशुल्क परीक्षणको व्यवस्था गर्ने, बोडेस्थित कृषि विकास बैक केन्द्रीय तालीम प्रतिष्ठान केन्द्रमा सञ्चालित आइसोलेशन केन्द्रलाई अक्सिजनसहितको प्राथमिक उपचार गर्नेगरी आइसोलेशन केन्द्र बनाउने भएको छ । त्यस्तै, नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल र स्वास्थ्य केन्द्रमा बालबालिकाका लागि विशेष वार्डको व्यवस्थापन गर्ने, सङ्क्रमित गरिव र असहायलाई निःशुल्क उपचारको व्यवस्था गर्ने, कोभिड विरूद्धको खोप खरिद वा अनुदानमा खोप मगाउन पहल गर्ने, सङ्क्रमणमा अग्रपंक्तिमा खटिने राष्ट्रसेवक कर्मचारीलाई सम्मान र प्रोत्साहन भत्ताको व्यवस्था गर्ने, निषेधाज्ञाको समयमा दैनिक ज्याला मजदूरी गरी खाने नागरिकका लागि राहत कोषको स्थापना गर्ने भएको छ ।

नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन बीमा गर्ने र सो बापतको आधा रकम नगरपालिकाले व्यहोर्ने, सबै स्वास्थ्य संस्थाहरूबाट वडास्तरमा मेडिकल डाक्टर, नर्सको व्यवस्था गरि सेवा प्रदान गरिने, अस्पतालमा सिटि स्क्यान, क्याथल्याव, डायलासिस सेवा, अक्सिजन प्लाण्ट, ब्लड बैंक, पिसिएल. तथा बिएससी नर्सिङ्ग सेवा विस्तारका लागि अस्पतालको सञ्चालक समितिबाट माग भए बमोजिमलाई आधार मानेर अनुदान दिने, वडास्तरमा खुल्ला व्याम सामग्रीको व्यवस्था गरिने, दीर्घरोगी बिरामीको लगत संकलन गरि सहुलियत दरमा औषधि उपलब्ध गराउने, ६० वर्ष उमेर नाघेका महिला स्वयं सेविकालाई एकमुष्ठ अनुदान दिई अनिवार्य अवकाशको व्यवस्था गरिने भएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै रोजगारीतर्फ हातमा सीप भएकालाई लघु उद्योग र व्यवसाय सञ्चालन गर्न बीउ पूँजी उपलब्ध गराउन, युवालाई काष्ठकला, डकर्मी, माटाका भाँडाकुँडा बनाउने, वर्कशप, सेरामिक्स, ब्युटीपार्लर, सिलाई बुनाई, मोबाईल मर्मत लगायतका तालीममा सहभागी गराई व्यवसाय शुरू गर्न बीउ पूँजी उपलब्ध गराउने, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्ने, नगरभित्र सञ्चालन हुने विकास निर्माण कार्यमा स्थानीयवासीलाई रोजगारीको व्यवस्थ गर्ने भएको छ । यसैगरी सार्वजनिक जग्गाको संरक्षण गरी उपभोग गर्न वडास्तरबाटै व्यायाम शाखा सञ्चालन गर्ने, नेपाली सैनिक ब्यारेक गठ्ठाघरदेखि मनोहरा पुलसम्म तीन बस बिसौनीमा विश्रामस्थल निर्माण गर्ने, नगरभित्र फोहोरको वर्गीकरण गरी सङ्कलन वडास्तरबाटै गरिने, वडास्तरबाट नै खेलकूद गतिविधिका लागि बजेट विनियोजन गर्ने, राधे–राधे, गठ्ठाघर र सानोठिमीमा मेट्रो एम्बुलेन्स सेवा सुचारू गर्ने नीतिगत निर्णय गरेको छ ।

त्यस्तै ऐतिहासिक सिद्धिकाली मन्दिर परिसरको दक्षिण–पूर्वी भागमा सञ्जिबनी उद्यान निर्माण गर्ने, घर नक्सा पास प्रक्रियालाई सहज, सरल र पारदर्शी बनाउनलाई अनलाईन सेवा इबिपिएस प्रणाली कार्यान्वयन गर्ने भएको छ । त्यस्तै काँलाडोल–बुढाथोकी गाउँ, हनुमन्ते, मनोहरा–निलबाराहीलगायत स्थानमा जग्गा एकीकरण आयोजनाका लागि उपभोक्ता समिति गठन गरी कार्यान्वयन गर्ने, करको दर वृद्धि नगरी करको दायरालाई फराकिलो पार्दै व्यवसाय दर्ता अभियान चलाउने नीति नगरपालिकाले लिएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot