Logo

राणा प्रधानमन्त्री पद्मशमशेरको सर्वसाधारणलाई अपिल- ‘चुरोट बहुतै खराब अम्मल हो’ 



२००२ मङ्सिर १४ गते राणा प्रधानमन्त्री जुद्धशमशेरले भतिजा पद्मशमशेरलाई आफ्नो राजपाठ सुम्पँदै आशीर्वाद दिएका थिए, ‘रामराज्य गर्नू ।’ राणा शासनका आठौं प्रधानमन्त्री पद्मशमशेर भीमशमशेरका एक्ला छोरा थिए । उदार तथा प्रजातन्त्रप्रेमी पद्मशमशेरले आफ्नो छोटो शासनकालमै दीर्घकालीन महत्त्व राख्ने थुप्रै काम गरेर देखाए । नेपालको इतिहासमा सामाजिक विकास तथा सुधारहरुका निम्ति चिनिएका पद्मशमशेरको सबैभन्दा चर्चित उद्गार छ- ‘म राष्ट्रको नोकर हुँ ।’

नभन्दै राणा प्रधानमन्त्री पद्मशमशेरको स्वीकृतिमा जनताले विद्यालयहरु खेल्ने अधिकार पाए । पद्मोदय हाइस्कुल उनकै पालामा स्थापना भएको थियो । उनले निजी विद्यालयहरु खोल्नमा समेत प्रोत्साहन गरे । उनले नेपालमा व्यावसायिक शिक्षाको थालनी समेत गरे । नेपालमै पहिलोपटक २००४ जेठ २३ मा आधार विद्यालयको स्थापना गरे जसको उद्देश्य युवक तथा बुढाबुढी सबैलाई साक्षर बनाउनु थियो ।

२००४ पुस १९ देखि त्रिचन्द्र कलेजमा विज्ञान संकायको सुरुवात गरे । उनकै समयबाट नारी शिक्षाको सुरुवात भयो । नारी शिक्षालाई बढी भन्दा बढी प्रोत्साहनका लागि पद्मकन्या कलेज स्थापना गरे । साथसाथै उनले अन्य थुप्रै कन्या स्कुल खेल्ने काम गरे । त्यसैले उनलाई ‘स्कुलका पिता’ पनि भन्ने गरिएको छ ।

उनकै पालादेखि ‘गोरखापत्र’ हप्तामा तीन दिन प्रकाशित हुन थाल्यो । मोरङमा सर्वसाधारणलाई पनि बिजुली बत्ती दिए । त्यस्तै सर्वसाधारणले घरमा रेडियो सेट  राख्न पाउने भए । नेपालको इतिहासमै पहिलो निर्वाचन गराए । वि.सं. २००४ मा काठमाडौंमा गरिएको उक्त निवार्चनमा त्रिपुरवर सिंह निर्वाचित भए । दुनियाँका पिरमर्का र गुनासा सुन्नका लागि उनले चिठ्ठी जाहेरी निक्सारी अड्डा स्थापना गरे भने सोझै प्रधानमन्त्रीलाई भेटी जनताले गुनासा र सुझाव दिन सक्ने वातावरण बनाए ।

‘नेपालको वैधानिक कानुन’ उनकै पालामा निर्माण भएको थियो । जसमा मौलिक हक, मन्त्रीमण्डलको व्यवस्था, पञ्चायती सभाको व्यवस्था, व्यवस्थापिका सभा, न्याय व्यवस्था र दरखास्त परिषद्को स्थापना आदि उल्लेख छन् । मौलिक हकमा वाक प्रकाशन स्वतन्त्रता, संघ संस्था खोल्न पाउने, कानुनी समानता, धार्मिक स्वतन्त्रता, वयस्क मताधिकार, निशुल्क प्राथमिक शिक्षा पाउने अधिकार प्रमुख छन् । तर नेपाल वैधानिक कानुन कार्यान्वयन हुन पाएन ।

त्यस्तै, पद्मशमशेरले दरखास्त परिषद्को माध्यमबाट सरकारी सेवाका लागि चाहिने कर्मचारीहरु भर्ना गर्ने व्यवस्था गरे । यो हालको लोकसेवा आयोगले गर्ने जस्तै काम गर्दथ्यो । सरकारी मूल्यभन्दा बढी मूल्यमा मालसामान बिक्री गर्न नपाउने नियम बनाए । वि.सं. २००४ सालमै नेपाल खाद्य परिषद्को स्थापना गरे  । २००३ फागुनमा १५ लाखको लगानीमा मोरङ सुगर मिल्स खोले । यसका साथसाथै २००३ भदौमा रघुपति जुटमिल्स पनि स्थापना गरे ।

सबैभन्दा रोचक के भने राणा प्रधानमन्त्री पदमशमशेरले जनतालाई चुरोट नपिउन सन्देश पनि दिएका थिए । उनको हस्ताक्षरसहित फेला परेको सानो पर्चामा चुरोट झिकाउनका निम्ति हाम्रो मुलुकबाट प्रतिवर्ष ५०-६० लाख रुपियाँ विदेश जाने गरेकाले मुलुकमा ठूलै आर्थिक धक्का परेको उल्लेख गरेका छन् । यति मात्र होइन, पहिले आफूले पनि प्रतिदिन ५०-६० ओटा चुरोट खाएको तर पछि चुरोट छोडेर तमाखु खान थालेको बताएका छन् । उनले भनेका छन्, ‘स्वास्थ्यलाई समेत हानि गर्ने यो चुरोट खानु एउटा बहुतै खराब अम्मल हो । यो अम्मललाई सकेसम्म एकै दिनमा छोडनु वेश हो, नसके अलिअलि घटाउँदै लगेर छोडे पनि हुन्छ । जसरी हुन्छ यो खराब लतलाई सबैले छोड्नमा नै वेश छ ।’

 नेपाल देशवासीहरुलाई श्री ३ महाराज पद्मशमशेर जंगबहादुर राणाको संदेश 

मेरा देशबासी दाजुभाई दिदी बहिनीहरुहो! 

चुरोट झिकाउनका निम्ति हाम्रो मुलुकबाट प्रतिवर्ष ५०-६० लाख रुपिया विदेशमा जान्छ । यसबाट पनि हाम्रो मुलुकमा एउटा ठूलै आर्थिक धक्का परेको छ । पहिले म पनि प्रतिदिन ५०-६० ओटा चुरोट खान्थे, मैले चुरोट खान एकदम छोडि नै दिएको तीन वर्ष भो । त्यसपछि मैले बराबर तमाखु मात्र खाने गरेको छु, चुरोट छोडेर तमाखु मात्र खानाले मलाई कुनै किसिमको हानि भएको छैन । स्वास्थ्यलाई समेत हानि गर्ने यो चुरोट खानु एउटा बहुतै खराब अम्बल हो  । यो अम्बललाई सकेसम्म एकै दिनमा छोडनु बेस हो, नसके अलि अलि घटाउँदै लगेर छोडे पनि हुन्छ । जसरी हुन्छ यो खराब लतलाई सबैले छोड्नमा नै बेस छ । यो मेरो प्रार्थनालाई विचार गरेर तिमी पनि चुरोट छोडने चेष्टा गर्नेछौ भन्ने आशा गर्दछु । 

श्री ३ महाराज पद्मशमशेर ज.ब.रा.

पद्मशमशेरको उदार चरित्र, सामाजिक तथा राजनीतिक सुधार आदिका कामबाट चन्द्रशमशेरका छोराहरु रुष्ट भए । रोलवाला भाइभतिजाबाट आफ्नो सुरक्षामा खतरा ठानी उनले प्रधानमन्त्रीको अफिसियल निवास सिंहदरबार नसरी बालुवाटार छेउ विशालनगरस्थित आफ्नो विशालनगर दरबारबाटै शासनसत्ता चलाउनु परेको थियो । र, भारत जान लागेका पद्मशमशेरलाई राजीनामा दिन बाध्य तुल्याई सत्ता हत्याउन सफल भए चन्द्रशमशेरका जेठा छोरा ६४ वर्षे मोहनशमशेर । २००५ वैशाख १४ गते पद्मशमशेर छातीमा रूद्राक्षको माला र भगवान् रामको फोटोफ्रेम झुण्डाएर रूँदै रूँदै भारततिर निस्किए । तस्बिरः https://www.opmcm.gov.np



प्रतिक्रिया दिनुहोस्

Screenshot