जब अभिभावकहरूले छोरी तरूनी हुन थालेको थाहा पाउँछन्, अलि-अलि डर पनि मान्न थाल्छन् । उही अभिभावक छोराको बारेमा भने त्यति सारो चिन्ता गर्दैनन् । छोरीप्रति डर यसकारण कि कुनै पनि बेला यौन दुर्व्यवहारमा पर्न सक्छे वा विवाह अगाडि लहैलहैमा लागेर यौन सम्पर्क गर्न सक्छे । यो शंकाको डर हो । अनि, उही अभिभावक छोरीलाई यी सम्भावित संकट टार्ने क्षमता विकासका लागि यौनिकता र जीवनोपयोगी सीप विकासमा शिक्षा दिन पनि अस्वीकार गर्छन् या हिच्किचाउँछन् ।
कसैको छोरीमाथि यौन दुर्व्यवहार गर्ने, बलात्कार गर्ने वा सहमतिमै पनि असुरक्षित यौन सम्पर्क गर्ने कसै न कसैका छोराहरू हुन् । त्यसमध्ये आफ्नो छोराले पनि गर्न सक्छ भन्ने कुरामा विरलै अभिभावकले मात्र ख्याल गरेका हुन्छन् । यौनिकताका बारेमा जीवनोपयोगी सीप विकास गर्ने चेतना भएका अभिभावकहरूले पनि छोरीलाई जस्तै छोरालाई पनि मित्रतापूर्वक यौन शिक्षा दिएका हुँदैनन् । किशोरीहरूमाथि हुने यौन दुर्व्यवहारमा कम नहुनुमा छोराका बारेमा पनि सचेत नहुनु हो ।
बालिका तथा किशोरीहरूमाथि हुने कुनै पनि किसिमको यौन दुर्व्यवहार वा यौन हिंसाका परिणाम बुझ्यो भने त्यसको शुरूवात सामान्य अवस्थाबाट भएको हुन्छ र बिस्तारै जोखिम अवस्थामा पुग्छ । शुरूको सम्बन्धमा अधिकांश किशोरीहरूले पछि त्यो कति हानिकारक हुनसक्छ भनेर अन्दाज गर्न सकेका हुँदैनन् । त्यसै कारण पनि अभिभावकहरूले नियमित रुपमा छोराछोरीहरूको यौन व्यवहार र उनीहरूको कुराकानीहरूमा ख्याल राख्नुपर्दछ तर शंकाको दृष्टिकोणले नभई जानकारी लिने तरिका अपनाएर । तर, छोराछोरीहरू प्रति अभिभावकको मित्रतापूर्ण सम्बन्ध भएमा मात्र यो सम्भव हुन्छ ।
आजभोलिको ‘ब्यायफ्रेन्ड/गर्लफ्रेन्ड डेटिङ् प्रेमलीला’ का आयाम बढ्दै गएको देखिन्छ । यस्ता डेटिङ प्रेमलीलालाई प्रायः ब्वायफ्रेन्डले नै बढी दुरूपयोग गरेका विभिन्न समयमा भएका घटनाहरूले स्पष्ट पारिसकेका छन् । ब्यायफ्रेन्डहरूले गर्लफ्रेन्डमाथि गर्ने दुर्व्यवहार पहिला सानातिना दबाबबाट शुरू भएको हुन्छ र बिस्तारै आफ्नो पूर्ण नियन्त्रणमा राख्न अनेकौं दबाब दिएका हुन्छन् । यदाकदा गर्लफ्रेन्डले पनि आफ्नो ब्यायफ्रेन्डलाई बिस्तारै नियन्त्रण गर्ने गरेका हुन्छन् । प्रेमको बहानामा गरिने यस्ता व्यवहारहरू प्रायः अरूको ईर्ष्या गरेर, गलत किसिमका शिक्षा दिइरहेका फिल्महरूको प्रभावमा परेर र यौनिकतासम्बन्धी गलत वा भ्रमपूर्ण जानकारीहरू भएका कारण हुने गरेको अध्ययनहरूले बताउँछ ।
प्रायः आफूसँग बाहेक अरूसँग भेटघाट गर्न नपाउने, बोलचाल गर्न नपाउने, आफूले चाहेको बेला जस्तोसुकै प्रतिकूल अवस्थामा पनि समय दिनुपर्ने, फोन आएका बेला नउठाए अनेकौं आशंका गर्ने, आफ्नो खुसीमा कतै घुम्न नपाउने, कपडा पनि उसले भनेको जस्तो मात्रै लगाउन पर्ने आदि नियन्त्रित व्यवहारहरू हुन् ।
केटाहरूले बिस्तारै बिस्तारै केटीहरूलाई परिबन्दमा पार्दै मानसिकरूपमा विभिन्न किसिमका डर पैदा गराएर यौन सम्पर्क गर्न बाध्य पारेका हुन्छन् र बिस्तारै यसमा बानी पारेका हुन्छन् । यसरी केटाहरूको आपराधिक मनोसामाजिक दशा भोगिरहेका किशोरीहरू धेरै हुन्छन् । यस किसिमका परिबन्दमा पारिएका गर्लफ्रेन्डहरूले ती ब्वायफ्रेन्डहरूको विरूद्धमा न त प्रतिवाद गर्न सकेका हुन्छन्, न अभिभावक वा शिक्षकहरूसँग सहयोग लिन सकेका हुन्छन् । यसको एउटै कारण हो, उनीहरूमा यौनिकता र यौन अधिकारको सवालमा जीवनोपयोगी सीप विकास अभावले हुन गएको कमजोर किसिमको आत्मबल । यसमा पहिलो जिम्मेवार अभिभावक र दोस्रोमा स्कूलका शिक्षकहरू नै हुन् । यसपछि समाजका अन्य सरोकारवालाहरू पर्दछन् ।
अभिभावकहरूले आफ्ना किशोरावस्थामा पुगेका छोराको गर्लफ्रेन्डसँगको सम्बन्ध कस्तो छ ? यही कुरा छोरीको सवालमा पनि उसको ब्वायफ्रेन्डसँग कस्ता किसिमका कुराकानी हुन्छ र उसको ब्यायफ्रेन्डले कस्तो व्यवहार गरिरहेको छ भनी शुरुबाटै जानकारी नराख्दा पछि यसले विकराल रुप लिइसकेको हुन सक्छ । किशोरावस्थाका छोराछोरी हुने अभिभावकहरू जसका छोरा छन्, उनीहरूले छोरीको भन्दा बढी जानकारी राख्नुपर्छ र यौनिकताप्रति सकारात्मक धारणाको विकास गर्न र यौन तथा प्रजनन स्वास्थ्य अधिकारप्रति मित्रतापूर्वक सचेत गराउँदै जीवनोपयोगी सीप विकासमा समय दिनु पर्छ र आवश्यक परे यस विषयमा अरूको पनि सहयोग लिनुपर्दछ किनकि कसैकी छोरीमाथि यौन दुर्व्यवहार गर्ने त छोराहरू नै हुन् । file photo