Logo

शिलान्यासको १० वर्षपछि तामाकोसी उद्घाटन



काठमाडौं, असार २२ । स्वदेशी लगानीमा निर्मित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले शिलान्यासको १० वर्षपछि बिजुली उत्पादन थालेको छ। आयोजनाले ६ मध्ये पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन सुरु गरेको हो। भूकम्प, नाकाबन्दी, ठेकेदार कम्पनीको ढिलासुस्ती, कोभिड–१९ महामारी जस्ता कारण यो आयोजना निकै ढिलो गरी सम्पन्न भएको हो।

आयोजनाका अरू पाँच युनिटले क्रमशः उत्पादन थाल्नेछन्। पूर्ण क्षमतामा उत्पादन गरेपछि नेपालको जलविद्युत् आयोजनाको कुल जडित क्षमताको झण्डै एक तिहाइ हिस्सा यसको हुनेछ। यसले पूर्ण क्षमतामा उत्पादन सुरु गरेपछि बर्खामा भारतीय बिजुली आयात गर्नुपर्ने बाध्यता टर्नेछ। हिउँदमा पनि बिजुलीको उच्च माग हुने बेला दैनिक चार घन्टा पूर्ण क्षमतामा उत्पादन गरेर ऊर्जा संकट कम गर्न सकिनेछ।

ऊर्जाको उच्च माग हुने समयमा यसबाट दैनिक चारदेखि ६ घन्टासम्म पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न सकिनेछ। यसले वार्षिक दुई अर्ब २८ करोड युनिट बिजुली उत्पादन गर्नेछ। यसबाट बर्खामा चार महिना पूर्ण क्षमतामा र हिउँदको फागुनमा ९२ मेगावाट मात्रै बिजुली उत्पादन हुनेछ। यसको कुल क्षमता ४५६ मेगावाट छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्