Logo

सहमति नजिक पुगेको नेताहरूको दाबी



काठमाडौं, असार २४ । नेकपा एमालेभित्रको जारी विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरूले विवाद समाधान हुनेतर्र्फ अगाडि बढेको दाबी गरेका छन् ।कार्यदलका सदस्य रघुजी पन्तले मुख्य विवादको बुँदामा केन्द्रित भएर छलफल भइरहेकाले केही दिनभित्र सहमतिको खाका तयार हुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले गहिरो ढंगले विवाद समाधानका लागि सहमतिको खाका तयार गर्ने गरी छलफल गरिरहेको छौँ, अहिलेसम्मको छलफल सकारात्मक छ ।’

एमाले प्रवक्ता एवं कार्यदल सदस्य प्रदीपकुमार ज्ञवाली कार्यदलभित्रको छलफल सकारात्मकरूपमा अगाडि बढेको जिकिर गर्दै विवाद समाधान हुने बताउनुभयो । उहाँले मुख्य विवादको विषयमा केन्द्रित भएर छलफल भएका कारण पनि सहमति निर्माण गर्न सहयोग पुगेको बताउँदै पार्टीलाई एकताबद्ध बनाउने विषयमा मोटामोटी सहमति जुटिसकेको बताउनुभयो ।

बैठकपछि कार्यदलका सदस्य गोकर्ण विष्टले सर्वोच्च अदालतको फैसलापछि पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट फर्काएर क्रियाशील बनाउने, माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरूको व्यवस्थापन गर्ने र प्रतिनिधिसभा विघटनको सम्बन्धमा अदालतमा परेका मुद्दाको सम्बन्धमा आफूहरूले चाहेकै भाषामा सहमति खोज्ने सवालमा नजिक आइपुगेको बताउनुभयो ।

कार्यदलमा प्रधानमन्त्री ओलीले गरेको संसद् विघटन र माधव नेपाल समूहले अदालतमा बुझाएको हस्ताक्षरबारे मौन रहँदै सहमति खोज्ने प्रयास भइरहेको बताइएको छ । तर, सहमतिको खाका भने तय भईनसकेको बैठकमा सहभागी एक नेताले बताए ।

कार्यदलका नेताहरूबीच सहमति गरेर अगाडि बढ्न सहमत भए पनि सहमतिमा कस्ता भाषा प्रयोग गर्ने भन्ने विषयमा अन्योल रहेको बताउँदै ती नेताले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता गराएर मात्र भाषाको टुंगो लगाइने गरी गृहकार्य भइरहेको बताए । दुई नेताबीच निर्णायक वार्ता गराएर मात्र विवाद समाधानको ठोस खाका ल्याउने तयारी कार्यदलमा भइरहेको छ ।

कार्यदलका सदस्यहरूले अहिलेको अवस्थामा पार्टी एकतालाई बचाउन नसके कम्युनिस्ट आन्दोलन नै संकटमा पर्ने निष्कर्षसहित शीर्ष तहमा समेत विश्वासको वातावरण निर्माण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । पार्टीको संस्थापन पक्षले यसअघि १०औं महाधिवेशन आयोजक कमिटीलाई नै केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने निर्णयप्रति पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले असन्तुष्टि जनाउँदै आएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot