Logo

माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक आज, ओली पक्षको घोर आपत्ति



काठमाडौं, साउन २१ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आज केन्द्रीय समिति बैठक बोलाएको छ। यसअघि बुधबारका लागि बोलाएको केन्द्रीय सदस्यको बैठक आजलाई सारिएको थियो ।

बैठकले पछिल्लो राजनीतिक अवस्था, आगामी दिनको रणनीति, सरकारमा सहभागितालगायतका विषयमा छलफल गर्ने तयारी गरेको छ । नेकपा एमालेमा जारी विवाद मिलाउने प्रयास भइरहेका बेला नेपाल पक्षले आफू पक्षीय केन्द्रीय कमिटी डाकेको हो।

नेता नेपालले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जानेबारे थप निर्णय लिन आफू पक्षीय केन्द्रीय सदस्यहरुलाई काठमाडौंमा बोलाएका हुन्। नेपाल पक्षले बैठक बोलाएपछि केपी शर्मा पक्षले आजको बैठकलाई अनधिकृत भन्दै बुधबार नै विज्ञप्ति निकालेर ध्यानाकर्षण गराएको छ ।

ओली पक्षले विज्ञप्तिमार्फत अपील गर्दै नेपाल पक्षले डाकेको केन्द्रीय कमिटी बैठक सहभागी नहुन नेताहरुलाई आग्रह गरेको छ।

‘नेपाल कम्यनिष्ट पार्टी एमाले केन्द्रीय कमिटीको नामबाट साउन २१ गते बैठक डाकिएको सुनिन आएकोले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ‘साउन २१ गते एमाले केन्द्रीय कमिटीको बैठक नराखिएको सबैमा जानकारी गराउँदछु।’

पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गरेर त्यसमा सहभागी हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरीत भएकाले त्यो गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरुमा अपिल गर्दछु।’



प्रतिक्रिया दिनुहोस्

Screenshot