Logo

एमालेमा एकता पक्षधर मध्यमार्गी कमजोर, फुटमा तमासे बन्दै



काठमाडौं, २७ साउन । नेकपा एमाले विभाजनबाट नरोकिने भएपछि मध्यमार्गी नेताहरु असन्तुष्ट हुनथालेका छन् । तर, केही गर्न नसक्ने अवस्थामा पुगेका छन् । पार्टीका पाका नेताहरु सामु निरिह बनेका दोस्रो पुस्ताका नेताहरुकै राजनीतिक भविष्य संकटमा परेको छ ।

एमाले विधान अनुसार ७० वर्षे हद नाघेका र नाघ्न लागेका नेताहरुबीच टकरावले एमाले विभाजन नजिक पुगेको हो । अध्यक्ष केपी शर्मा ओली ७० वर्ष पुगेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल अबको केही महिनामा ७० वर्ष पुग्दैछन् ।

७० वर्ष पुगेपछि एमालेको निर्णायक कमिटीहरुमा रहन बन्देज छ । तर, नेताहरु अझै नेतृत्वमै छन् । उनीहरुको विवादले एमाले विभाजनको संघारमा पुगेको छ । दोस्रो तहका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, सुवास नेम्वाङ, गोकर्ण बिष्ट, योगेश भट्टराई, घनश्याम भुसाल, भीम आचार्यलगायत एकता बचाउन सक्रिय हुँदै आएका छन् । तर, उनीहरु आफै कमजोर सावित भए ।

महासचिव ईश्वर पोखरेल पनि कमजोर देखिए । उनी ओलीकै पछि लाग्न वाध्य भए । उनको कुनै आफ्नो बलियो पकड या धार देखिएन ।

एमालेमा कि केपी शर्मा ओली हावी देखिए कि माधवकुमार नेपाल । यी दुईले जस्तोसुकै हठ या अन्य निर्णय लिन्छन् नेताहरु त्यतै लाग्नुपर्ने वाध्यात्मक अवस्था देखिएको छ । मध्यमार्गी धार कमजोर सावित भयो ।

फुटको संघारमा एमाले पुगेपछि दोस्रो तहका नेताहरु तमासे जस्तै देखिएका छन् । उनीहरु अब कित्ताकाट गरिहाल्नुपर्ने अवस्थामा छन् । अन्यथा उनीहरुकै राजनीतिक जीवन धरापमा पर्न सक्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot