Logo

एमालेका मध्यमार्गी तितर वितर हुँदै, को कता



काठमाडौं, २८ साउन । नेकपा एमाले विभाजन निश्चितप्रायः भएपछि मध्यमार्गी नेताहरु तितरवितर हुन थालेका छन् । फुट रोक्न नसकिने निष्कर्षमा पुगेपछि उनीहरु अब केपी शर्मा ओली नेतृत्वको एमालेमै रहने या माधवकुमार नेपालले निर्माण गर्न लागेको नयाँ दलमा जानेबारे जोखाना गर्न थालेका छन् ।

एकता पक्षधर भीम रावल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, सुवास नेम्वाङ, गोकर्ण बिष्ट, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्यलगायतको सक्रियता घटेको छ । उनीहरु आफै कुनै कठोर कदम पनि चाल्न नसक्ने अवस्थामा छन् । ओली र नेपाललाई सम्झाएर पार्टी एक बनाउन पनि नसक्ने हटाउन पनि नसक्ने भएपछि अब दुईमध्ये एक गुटमा रहनुपर्ने वाध्यता आइलागेको छ ।

उपाध्यक्ष भीम रावल एमाले नछाड्ने पक्षमा देखिएका छन् । तर, उनी खुलेर ओली समूहमा गइसकेका छैनन् । सुर्य चिन्ह नछाड्ने पक्षमा सुरेन्द्र पाण्डे र भीम रावल पनि देखिएका छन् । योगेश भट्टराईको पनि त्यस्तै मत देखिएको छ । भीम आचार्य माधव नेपालको साथमा जाने पक्षमा देखिएका छैनन् । घनश्याम भुसाल भने ओलीसँग बस्न नसकिने निष्कर्षमा पुगेका छन् । योगेश भट्टराई नयाँ दल खोलेर जाँदा निकै समस्या आउने भएकाले एमालेमै संघर्ष गर्ने पक्षमा छन् । तर, ओलीले विधान महाधिवेशनको तयारी गर्ने, सांगठनिक संरचना हेरफेर गर्ने गरेबाट उनी गम्भीर भएका छन् ।

विष्णु पौडेल र सुवास नेम्वाङ ओलीको साथमै छन् । उनीहरु कुनै हालतमा माधव नेपाल पक्षमा जाने सम्भावना देखिदैन । माधव नेपाल पक्षमा लामो समय रहेका मध्यमार्गीहरु भने विभाजित हुँदै गएका छन् । उनीहरु ओली र नेपालबीच टकराव बढ्दै जाँदा र फुटको संघारमा पुगेकाले तितरवितर हुँदैछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot