Logo

माधव नेपालले भनेबमोजिम दलसम्बन्धी अध्यादेश आउने



काठमाडौं, २८ साउन । नेकपा एमालेको विभाजन निश्चितप्रायः भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष केपी शर्मा ओलीसँगै पार्टीमा बस्न नसक्ने निष्कर्षका साथ विभाजनको तयारीमा जुटेका हुन् । उनले केन्द्रीय सदस्य र सांसदहरुलाई निरन्तर भेटेर साथ दिन आग्रह गर्न थालेका छन् ।

केन्द्रीय कमिटिमा ४० प्रतिशत हाराहारीमा सदस्यहरु पुगेपनि संसदीय दलमा उनको पक्षमा ३० प्रतिशतभन्दा कम संख्या पुगेको छ । नेपालले ओलीलाई केन्द्रीय कमिटीमा अल्पमतमा पारेर अध्यक्षबाट हटाउन सकिने प्रयास गरेपनि सफल नभएपछि विभाजनको तयारीमा लागेका हुन् । उनले केन्द्रीय सदस्य र सांसदहरुको हस्ताक्षर संकलन गर्न आफ्ना विश्वासपात्रहरुलाई खटाएका छन् ।

केन्द्रीय कमिटीमा ४० प्रतिशत संख्या पुर्याउन सके यसलाई दृष्टिगत गरी सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने बुझिएको छ । नेपालले ग्रीन सिग्नल दिएलगत्तै सरकारबाट अध्यादेश मन्त्रिपरिषद्बाट निर्णय भई राष्ट्रपतिसमक्ष सिफारिश हुन सक्छ ।

विश्वस्त स्रोतका अनुसार राजनीतिक दलसम्बन्धी नियमावलीमा छुट्टै दल बनाउने सक्ने बुँदामा रहेको संघीय संसदमा प्रतिनिधित्व गर्ने कुनै दलको केन्द्रीय समिति र संसदीय दलका कम्तीमा चालीस प्रतिशत सदस्य हुनुपर्ने भनिएकोमा केन्द्रीय समिति वा संसदीय दल राख्ने गरी तयारी भएको छ । तर, माधव नेपाल पक्षले केन्द्रीय कमिटीमा पनि ४० प्रतिशत संख्या बनाउन नसके त्योभन्दा कम संख्या भए पुग्ने गरी अध्यादेश आउने बुझिएको छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल केन्द्रीय सदस्य र सांसदहरु जतिसक्दो बढी संख्यामा आफूतर्फ तान्न सक्रिय भइरहँदा केही दिन अझै प्रतिक्षारत छन् । उनले वरिष्ठ नेता झलनाथ खनाल काठमाडौं आएपछि थप कदम चाल्ने बुझिएको छ । एमाले विभाजनका लागि नेपालले भनेबमोजिम अध्यादेश ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवा तयार भइसकेका छन् ।

यसैगरी, नेता नेपालले आफू पक्षधरहरुलाई खुट्टा नकमाउन भनेका छन् । उनले भविष्यसम्मको योजना समेत निकटस्थलाई सुनाइसकेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot