Logo

वाम लोकतान्त्रिक गठबन्धन आगामी निर्वाचनसम्मै



काठमाडौं, साउन ३१। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने प्रस्ताव गरेका छन् । शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रस्ताव पेस गर्दै अध्यक्ष दाहालले संविधानको रक्षा, प्रतिगमनविरुद्धको लडाइँ एवं मुलुकको समस्या समाधानका लागि पनि गठबन्धनको निरन्तरता अत्यावश्यकता रहेको उल्लेख गरेका छन् ।

अध्यक्ष दाहालले पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘अहिलेको लोकतान्त्रिक राजनीतिक प्रणाली, संविधान र राष्ट्रियताको रक्षा गर्दै देशमा आर्थिक समृद्धि, स्थायित्व र सुशासन कायम गर्न निर्माण गरिएको गठबन्धनलाई यही रूपमा बुझ्ने र आगामी निर्वाचनसम्म कम्तीमा पनि कायम राख्ने पार्टीको नीति हुनेछ’

कोरोना नियन्त्रण, अर्थतन्त्रको पुनरुद्धार, जनताको जीवनस्तरमा सुधार गरी मुलुकमा सुशासन स्थापना गर्नु गठबन्धन र सरकारको प्राथमिकता रहेको रहेको प्रस्तावमा समावेश छ । सरकारलाई जनपक्षीय बनाउँदै सफल बनाउन पार्टीले आफ्नो ठाउँमा लागिपर्ने विषयलाई राजनीतिक प्रस्तावमा विशेष जोड दिइएको छ ।

अध्यक्ष दाहालले एमसीसी, लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीतिअनुसार कूटनीतिक संवादका माध्यमबाट हल गर्न प्रयत्न गरिने उल्लेख गरेका छन् । आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने र संघीय एवं प्रादेशिक निर्वाचनमार्फत देशको नेतृत्वदायी शक्तिका रूपमा स्थापित गर्नेगरी संगठनात्मक कार्य अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ ।

नयाँ सन्दर्भमा पार्टीको विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक संरचना र विभिन्न तहको नेतृत्व निर्माणका लागि राष्ट्रिय सम्मेलनको आयोजना गर्ने अध्यक्ष दाहालले प्रस्ताव गरेका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot