Logo

कांग्रेस महाधिवेशनमा तेस्रो पुस्ताको वर्चस्व रहने प्रदीप पौडेलको दाबी



काठमाडौं, भदौ ६ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीमा पुस्ता हस्तान्तरणका लागि चौधौं महाधिवेशन कोसेढुंगा हुने बताएका छन् । मूल नेतृत्वबाहेक अन्य पदमा तेस्रो पुस्ताको वर्चस्व रहने उनको दाबी छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता पौडेलले भने, “कांग्रेसमा पुस्ता हस्तान्तरणका लागि चौधौं महाधिवेशन कोसेढुंगा हुन्छ । मुख्य नेतृत्वमा यसै भन्न सक्दिनँ । बाँकी पदाधिकारी र केन्द्रीय कार्यसमितिमा धेरैजसो तेस्रो पुस्ता या युवा भनिने नयाँ अनुहार आउँछ । तर केन्द्रीय कार्यसमितिमा नआईकन एकैचोटि पदाधिकारीमा आउने भनेको चाहिँ होइन ।”

पौडेलले भदौ १८ बाट वडा अधिवेशन सुरु हुनेमा दुबिधा नभएको पनि बताए । उनले क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन आजै सभापति शेरबहादुर देउवालाई बुझाउने र निर्वाचन निर्देशिका छाप्न गइसकेकाले महाधिवेशनको टुंगो लागेको उनको भनाइ छ ।

मन्त्रिपरिषद् विस्तार हुन नसक्नुको भित्री कारण जे भए पनि त्यसको अपजस प्रधानमन्त्री शेरबहादुर देउवाले लिनुपर्ने बताए । उनले भने, “आन्तरिक कारण बुझ्दा माधव नेपालको दलका कारण विस्तार हुन नसकेको हो ।  तर हामीले मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई सुझाव दिइरहेका छौं । सरकारको प्रभावकारिता निर्वाचनसँग पनि जोडिएको छ । निर्वाचनमा क्षति बढ्ने र निराशा ल्याउने स्थिति आउनु हुँदैन ।”

उनले सत्ताप्रधान सोचका कारण व्यवस्थामाथि नै प्रश्न दल उठ्ने पनि बताए । उनले थपे, “दल विभाजनसम्बन्धी अध्यादेश केपीले ल्याउँदा बेठीक, देउवाले गर्दा कसरी ठीक हुन्छ ? सत्ता नै प्रधान बनाउनु गलत हो । यो केपी ओलीकै प्रवृत्तिको निरन्तरता हो । संविधान बनाउने नेताहरु नै किन यस्तो चाहिरहनुभएको छ ? हामीलाई थाहा छ, अध्यादेश गठबन्धनको दबाबका कारण आयो । तर ओलीलाई अध्यादेशको विरोध गर्ने नैतिकता छैन ।” अध्यादेशका कारण उनले अस्थिरता र अराजकता बढेर नेपाली कांग्रेसमै पनि विभाजन आउन सक्ने खतरा औंल्याए ।



प्रतिक्रिया दिनुहोस्