काठमाडौं, भदौ २५ । नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले एमसीसी परियोजना पारित गरेर देखाउन सत्ता गठबन्धनलाई चुनौती दिएका छन् । उनले १ सय ६५ सांसदको बहुमत भएको सरकारलाई एमालेको समर्थन किन चाहियो भन्ने प्रश्न गरे ।
आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले भने, “एमसीसीको टोलीले हिजो हाम्रा अध्यक्ष केपी शर्मा ओलीसँग भेट्यो । हामीले स्पष्ट रुपमा के भन्यौं भने एमसीसी हामीले गरेको सम्झौता होइन, तर मुलुकको सरकारले गरेको सम्झौता भएकाले त्यसलाई निरन्तरता दिने कोसिस गरेका हौं । अहिले हामी प्रतिपक्षमा छौं । हामीलाई सरकारले एमसीसीबारे के गर्ने भन्नेबारे छलफल पनि गरेको छैन । यसमा धारणा पनि बनाएका छैनौं ।”
सत्तामा हुँदा एमसीसी चाहिन्छ भनेर संसद्मा ल्याउने एमाले विपक्षमा पुग्नेबित्तिकै सरक्क पन्छिन मिल्छ भन्ने पत्रकार धमलाको प्रश्नमा भट्टराईले भने, “सरकारले केही पनि प्रस्ताव ल्याएको छैन । अहिले हामी विपक्षमा छौं । यसमा एमालेलाई अनावश्यक विवादमा तान्नु आवश्यक छैन । सत्ता गठबन्धनले हामीसँग १६५ को सिट छ भनेर दम्भ गरेको होइन ? बहुमतका लागि १ सय ३६ मत भए पुग्छ । हामी अहिले ड्राइभिङ सिटमा छैनौं । राष्ट्रिय सहमतिको पहल गर्ने हैेसियतमा पनि छैनौं । चौतर्फी घेराबन्दी गरी संवैधानिक र असंवैधानिक रुपमा सत्ताबाट हटाइएको छ । आवश्यकता परेछ भन्ने एमालेले धारणा बनाउँछ ।”
नेता भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाको नांगो, भेदभावपूर्ण र पूर्वाग्रही शैली रहेको अवस्थामा कसरी संसद चल्न सक्छ भन्ने प्रश्न गरे । उनले भने, “सभामुखले एउटा दललाई एउटा व्यवहार, अर्को दललाई अर्को व्यवहार गर्न मिल्छ ? संसद्मा सभामुखको भूमिका यस्तो रहुन्जेल संसद् कसरी चल्छ ? सभामुख, प्रधानमन्त्री, अर्थमन्त्रीले यो बुझ्नुपर्यो ।”
नेकपा एमाले केही पनि होइन भन्ने व्यवहार सह्य नहुने चेतावनी पनि उनले दिए । उनले थपे, “पार्टीले कारबाही गरिसकेका मानिसलाई लिएर एमाले फुटाइदिने सभामुख अहिले अदालतको हवाला दिइरहनुभएको छ । अदालतको कुरा गर्ने हो भने उहाँलाई ज्यान मारेको मुद्दा छ, धरानमा व्यक्तिको जग्गा अरुलाई बाँडेको मुद्दा छ, नैतिकहीनले अरुलाई नैतिकता सिकाउन मिल्दैन ।”