Logo

अष्टलक्ष्मीले बाटो बिराउनुभयो, दुईतीन दिनभित्रै समर्थन फिर्ता लिन्छौंः भुसाल



काठमाडौं, भदौ २७ । नेकपा (एकीकृत समाजवादी) का वेदुराम भुसालले बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बाटो बिराएकाले अब नयाँ मुख्यमन्त्री बन्ने बताएका छन् । एकीकृत समाजवादीको संसदीय दलको नेता चुनेपछि दुईतीन दिनभित्रै शाक्यलाई समर्थन नरहेको पत्र प्रदेश प्रमुख र प्रदेश सभालाई बुझाउने उनको दाबी छ ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भुसालले भने, “मुख्यमन्त्री शाक्यले बाटो  बिराउनुभयो । उहाँ हिजो माधव नेपालले उहाँलाई मुख्यमन्त्रीमा ‘जाने भए जानोस् तर हामीसँगै हुनुपर्छ’ भन्नुभएको थियो । अहिले केपी ओलीसँग नतमस्तक हुनुभएको छ । अहिले हामी अहिले अलग-अलग पार्टीमा छौं । त्यसैले उहाँलाई समर्थन गरिरहनुपर्ने बाध्यता छैन । हाम्रो पार्टीको संसदीय दलको बैठकले नेता चुन्छ र दुई वा तीन दिनभित्र समर्थन नरहेको प्रदेश प्रमुख र प्रदेश सभालाई पत्र जान्छ ।”
अब हुने मुख्यमन्त्री आफ्नो दलका तर्फबाट राजेन्द्र पाण्डे हुने पनि बताए । उनले भने, “अहिले गठबन्धनको सरकार बन्ने हो । त्यसमा हाम्रो स्वतः दाबी छ । अब बाग्मती र प्रदेश १ मा हाम्रो मुख्य मन्त्री हुन्छन्, सदूर पश्चिम र कर्णालीमा माओवादी केन्द्रको छँदै छ । जसपा प्रदेश २ मा छ । कांग्रेसको गण्डकी र लुम्बिनीमा सरकार बन्छन् ।”
आफ्नो दलका कारण मन्त्रिपरिषद् विस्तार नभएको भन्ने साँचो नभएको उनको दाबी छ । उनले भने, “हाम्रो कारणले ढिलाई भएको होइन, गठबन्धन दलमा व्यवस्थापनका समस्या छन् । हाम्रो तर्फबाट कसको नेतृत्वमा जाने भन्नेबारे निश्चित भएको छैन ।” उनले राष्ट्रिय सभाका सदस्यलाई मन्त्री नबनाउने निर्णय नभएको पनि बताए ।
एमालेले आफ्नो सरकार ढलेको आक्रोश र विक्षिप्तपन संसद्मा देखाइरहेको आरोप पनि उनले लगाए । उनले भने, “एमालेले गैरजिम्मेवार व्यवहार देखाएको छ । सभामुखले कानुनको सीमा ननाघीकन गरेको निर्णयमा एमालेले संसद् अवरुद्ध गर्न पाउँछ ? माधव नेपाल लगायत १४ सांसदलाई अवैधानिक भन्न मिल्छ ? नैतिक हिसाबले दुईदुई पटक प्रतिनिधिसभाको हत्या गरिसकेका मानिस पो सांसद नरहनुपर्ने हो । जसले अवैधानिक भनिरहेका छन्, ती अनैतिक र लाज नभएका नकचरा हुन् ।” नेता भुसालले राष्ट्रिय सहमतिबिना एमसीसी पारित नहुने पनि स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्