Logo

‘केपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)



काठमाडौं, २ असोज । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले अहिलेको राजनीतिक अवस्थाको सिर्जना एमाले अध्यक्ष केपी शर्मा ओलीको कारण भएको दाबी गरेका छन । संसद् विघटन गर्ने र संविधान मिच्ने काम ओलीले गरेको भन्दै त्यसलाई अहिलेको सरकारले ट्रयाकमा ल्याउने काम गरिरहेको उनको भनाई छ ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारको अहिले नै मूल्यांकन गर्नपनि नहुने तर्क गरे । उनले शेरबहादुर देउवा नेतृत्वको सरकार कांग्रेसको एकमना सरकार नभएको उल्लेख गर्दै गठबन्धनमा आवद्ध दलका कारण सरकारलाई पूर्णता दिने विषयमा ढिलाई भैरहेको स्पष्ट पारे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले कांग्रेसले सरकारको नेतृत्व गर्न पाउनु चिठ्ठा परेको जस्तै भएको पनि सुनाए । उनले भने,‘यो सरकार गठन भएको दुई महिना प्लस भयो, अहिले नै सरकारको मूल्यांकन गर्न मिल्दैन् । आजको समस्याको ईपिसेन्टर नै केपी ओली हो । यो अवस्था कसले ल्यायो ? त्यसको मूल्यांकन जनताले गर्छन् । हिजो केपी ओलीले संसद्मा एमसीसी पास गर्न सभामुखलाई धम्की दिने ? आज प्रतिपक्षमा हुँदा भूमिका फरक छ भनेर बोल्ने ? उहाँको भूमिका हेर्नुहोस न ? उहाँको पार्टी कांग्रेस र प्रचण्डले फुटाएको हो र ? उहाँकै कारणले फुटेको हो । बरु, सुरुमा त हाम्रो सभापतिजीको ओलीसँग सहकार्य थियो । चुनावमा जाँदा कांग्रेसलाई फाईदा हुन्छ भनेर । तर, पछि हामी संसद् विघटनको विरुद्धमा आन्दोलनमा होमियौं, संविधान बचाउने जिम्मा कांग्रेसको काँधमा छ ।’

उनले अहिले कांग्रेसको एकमना सरकार नभएको उल्लेख गरे । उनले भने,‘एक मना सरकार हुँदा केपी ओलीले तीन वर्षसम्म केही गर्न सकेनन् । बरु, उल्टै उनले आफ्नै दलका नेताहरुको मानमर्दन गरे, तर आज हाम्रो सभापतिले प्रचण्डको मानमर्दन गरेको छैन् । हामीले त सम्मानका साथ पर्खिएको हो । मन्त्रिमण्डल विस्तार भएपछि डेलिभरको कुरा आउँछ । नागरिक समाजका अगुवाले बाटो देखाउने हो । त्यसलाई प्रधानमन्त्रीले स्विकार गर्नुपर्छ ।’

वर्तमान सरकारसँग जनताले गल्ती नगरोस भन्ने अपेक्षा राखेको पनि उनले सुनाए । उनले भने,‘खराब काम नगरोस भन्ने छ ।’ उनले संविधान कार्यान्वयन गर्ने निकायमा बस्नेहरु संघीयता पक्षधर भएको भए राम्रोसँग कार्यान्वयन हुनेथियो भन्ने पनि टिप्पणी गरे । उनले भने,‘केपी ओली त सरकारको नेतृत्वमा हुँदा संविधान कुल्चिने काम भयो, नेतृत्वमा संघीयता पक्षधर बस्यो भने त्यो राम्रो कार्यान्यन हुन्छ ।’

उनले नेपालको संविधान २०७२ विश्वकै राम्रो संविधान भएको दाबी गरे । उनले भने,‘हाम्रो संविधान विश्वमै अहिलेसम्मकै यो जस्तो राम्रो छैन् । हामीकहाँ राष्ट्रपति महिला बनेको छ । अधिकारका सुनिश्चितता गरिएको छ । यो संविधान कार्यान्वयनको पक्षमा नेताले बिगारेको हो । तर, यो संविधान राम्रो छ। संविधान बचाउनको लागि गठबन्धन बनेको हो ।’

उनले सरकारले केही दिनमै पूर्णता पाउने पनि दाबी गरे । सरकारले पूर्णता पाएपछि सरकारले द्रुत गतिमा सेवा प्रवाह गर्ने उनको विश्वास छ । सरकारले अहिले कोभिड–१९ लाई प्राथमिकतामा राखेर काम गरेको पनि उनले सुनाए । उनले एमसीसीको लागि राष्ट्रिय सहमित आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot