काठमाडौं, असोज ६ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जनवरीको अन्त्यसम्म बालबालिकालाई कोभिडविरुद्धको खोप लगाउन सुरु हुने बताएका छन् । बालबालिकालाई आवश्यक १ करोड खोप आवश्यक पर्ने, कोभ्याक्स अन्तर्गत ४० लाख मोर्डना खोपका लागि भुक्तानी भइसकेको र बाँकी खोप ल्याउन अन्तिम चरणमा कुराकानी भइरहेको उनको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा आज बिहान पत्रकार ऋषि धमलासँग लामो संवाद गर्दै राज्यमन्त्री श्रेष्ठले भने, ‘बालबालिका लागि कोभिडविरुद्ध एक करोड खोप चाहिन्छ । कोभ्याक्स अन्तर्गत ४० लाख मोर्डना खोपका लागि भुक्तानी भइसकेको छ । बाँकी खोप ल्याउन अन्तिम चरणमा कुराकानी भइरहेको छ । सबै खोप जनवरीदेखि मार्चसम्म आइपुग्छ । र, जनवरीको अन्त्यसम्म बालबालिकालाई लगाउन सुरु हुन्छ । बालबालिकालाई जतिसक्दो चाँडो खोप लगाउनुपर्ने कुरामा सरकार गम्भीर छ ।’
शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछिका दुई महिनामा १ करोड ७७ लाख ५६ हजारले खोप आइसकेको र ३ करोड ५९ लाख आउने सुनिश्चितता भइसकेको उनले बताए । उनले भने, ‘अहिलेसम्म ५६ लाख जनताले पूर्ण खोप लगाइसकेका छन्, ६२ लाखले पहिलो डोज खोप लगाएका छन् । यसरी १८ प्रतिशत जनताले लगाइसकेका छन् । चीनबाट आएको ४४ लाख खोप लगाउनका लागि १० दिने खोप अभियान सुरु भएको छ । हामी अहिले एकै दिनमा तीन लाख खोपसम्म लगाउने अभियानमा छौं । दसैंसम्म १ करोड ५० लाख खोप दिने तयारीमा छौं ।’
राज्यमन्त्री श्रेष्ठले १८ वर्षभन्दा माथिका विद्यार्थीका लागि खोप उपलब्ध गराइसकेको र छुटेका सबैलाई लगाउने सुनिश्चितता भएको पनि बताए । उनले भने, ‘कोभिडविरुद्ध खोप नै प्रोटेक्सन हो । त्यसैले सरकारले यो वर्षभित्र सबै जनतालाई पूर्ण खोप लगाउने लक्ष्य लिएको छ । हामी खोपको कमी नहोस् भनेर निरन्तर लागिरहेका छौं ।’
उनले स्वास्थ्य मन्त्रालयको संरचनात्मक सुधारका लागि आफू लागेको पनि बताए । उनले थपे, ‘अहिले सरकारको पहिलो प्राथमिकता खोप हो, यसमा सहजता पनि भएको छ । सबै जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा दिने गुरुयोजना बनाएर काम गरिरहेको छु । अस्पतालमा लामो लाइन बस्नु नपरोस्, स्वास्थ्य बीमा व्यवस्थित होस्, प्रत्येक प्रदेशमा १ हजार बेडको सुविधासम्पन्न अस्पताल होस्, सरकारका तर्फबाट प्रत्येक प्रदेशमा २, ३ वटा मेडिकल कलेज खुलोस्, सरकारी अस्पतालमा दरबन्दी र उपकरण अभाव नहोस् भनेर लागिरहेका छौं । छात्रवृत्तिमा पढेका हो । ४, ५ सय डाक्टरलाई गाउँमा पठाउने र सहज रुपमा एमडी गर्न पाउने व्यवस्था गर्दैछौं । हामी सिस्टम बनाउन चाहन्छौं । सुधार भनेको एकैचोटि हुन्न । स्वास्थ्य क्षेत्रमा बजेट बढाएर परिवर्तन गर्न सकिने सम्भावना धेरै छ ।’
उनले देउवा सरकार बनेपछि स्वास्थ्य क्षेत्रमा धेरै काम भएको पनि बताए । उनले भने, ‘यो संयुक्त सरकार हो । हामी कम्पिटिसन विद् कोपरेसनको भावनाले अघि बढेका छौं । मन्त्रिपरिषद्ले पूर्णता नपाए पनि स्वास्थ्य क्षेत्रमा हामीले थुप्रै काम गरेका छौं, भिजनरी लिडर गएपछि मन्त्रालयमा काम हुँदो रहेछ । तपाईं हेर्नुस्, दुई महिनाअघिसम्म दुई तिहाइको सरकार थियो, काम के भयो त रु त्यसैले काम गर्नका लागि इच्छाशक्ति चाहिन्छ ।’