Logo

नेतृत्वलाई पार्टी फुट्छ भन्ने लागेको भए सामूहिक राजीनामा बुझाउन तयार छौंः जसपा सांसद



काठमाडौं, असोज ८ । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले दल विभाजनसम्बन्धी अध्यादेश कायमै राखेर मन्त्रिपरिषद् विस्तार गर्दा पार्टी फुट्छ भन्ने लागेको भए सबै जना सांसद राजीनामा गरेर बुझाउन तयार रहेको बताएका छन् । मन्त्री बन्न नपाए पार्टी फुटाउने कल्पना पनि नगरेको उनको दाबी छ ।

आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “मन्त्रिपरिषद् विस्तारमा हाम्रो दलभित्र कुनै समस्या छैन । पार्टीभित्र त्यस्तो अन्तरविरोध पनि छैन । दल विभाजनसम्बन्धी अध्यादेश कायमै राखेर मन्त्रिपरिषद् विस्तार गर्दा पार्टी फुट्छ भन्ने नेतृत्वलाई लागेको हो भने हामी सबै जना सांसद सामूहिक राजीनामा गरेर बुझाउन तयार छौं । यो हाउगुजी मात्र हो ।”

नेता यादवले लोकतन्त्रको स्थायित्व र दीर्घ जीवनका लागि टुटफुटले राम्रो परिणाम नल्याउने उनले बताए । उनले थपे, “हामी सबै जना राजनीति गरेरै यहाँसम्म आएको हौं । हरेक सांसदले मन्त्री बन्ने इच्छा राख्नु स्वभाविक हो । तर मन्त्री भनेको जिम्मेवारी हो । अहिलेको सरकारमा बाँकी रहेका सबै मन्त्री दिए पनि हामीलाई पुग्दैन । उपेन्द्र यादवले सबै सांसदलाई मन्त्री कसरी पुर्याउनुहुन्छ ? त्यसकारण मन्त्री बन्न नपाउने बित्तिकै पार्टी फुट्दैन । मैले त्यस्तो कल्पना गरेको पनि छैन । म पार्टी निर्णयलाई शिरोधार्य गर्छु । अब हामी वैकल्पिक शक्ति निर्माणमा लाग्छौं ।”

उनले राष्ट्रिय राजनीतिको डिस्कोर्स चुनावतिर जाने देखिएकाले त्यसको तयारीमा लाग्नुपर्ने बताए । उनले भने, “जसपाका कारण मन्त्रिपरिषद् विस्तार भएन, भागबन्डा मिलेन भन्दा हामी अचम्मित र दुःखी हुन्छौं । अहिलेको गठबन्धन जुन परिस्थितिमा निर्माण भयो, यसको महत्त्वलाई बुझेर हामी एक ढिक्का भएर अघि बढ्नुको विकल्प छैन । त्यसैले हामीले समझदारीपूर्वक सबै दललाई सम्मान अनुभूति हुने गरी अघि बढ्न जोड दिएका हौं ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot