Logo

अब जसपा र एकीकृत समाजवादीलाई कुरेर अलमलिने बेला छैनः कांग्रेस नेता पाण्डे



काठमाडौं, असोज ८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले जसपा र नेकपा (एकीकृत समाजवादी) लाई कुरेर तीन महिनासम्म मन्त्रिपरिषद् विस्तार नगरी बस्नु नहुने बताएका छन् । जसपा र एकीकृत समाजवादीका मन्त्रालय बाँकी राखेर कांग्रेस र माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा उनको जोड छ ।

आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले भने, “मन्त्रिपरिषद् विस्तारमा पार्टीबाट सहयोग नभएको भन्ने कुरा सत्य होइन । तर सत्ता गठबन्धनका घटकहरुका कारण मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलो भइसकेको चाहिँ यथार्थ हो । सत्ता घटकहरुका आन्तरिक समस्या छन्, होलान् तर अब कसैलाई कुरेर बस्ने अनि अलमलिने कुरा छैन । जसपा र एकीकृत समाजवादीलाई आउन समस्या छ भने अहिले कांग्रेस र माओवादीले मन्त्रिपरिषद् विस्तार गरेर जनतालाई विश्वस्त बनाउन सक्नुपर्छ ।”

नेता पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवालाई फेरि पार्टी सभापति बन्न कुनै छेकबार नभएको पनि बताए । उनले भने, “नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य र मान्यता अनुसार स्थापित पार्टी हो । यहाँ जो सुकैले प्रतिस्पर्धा गर्न पाउँछ । देउवाले दोहोरिने चाहना राख्नुभएको छ । तर आधिकारिक घोषणा गर्नुभएको छैन । त्यसैले त्यसबारे टिप्पणी गर्न हतार हुन्छ । पालिकास्तरीय चुनावै नसकी केन्द्रको उम्मेदवारी घोषणा गर्नु सान्दर्भिक पनि हुन्न । त्यसरी घोषणा गरेर जितिने पनि होइन ।” उनले आफू जुन पदमा उपयुक्त हुन्छ, त्यही पदमा उम्मेदवारी घोषणा गर्ने बताए ।

पार्टीलाई पुरानो र नयाँ पुस्ताको सम्मिश्रणबाट सञ्चालन गर्नुपर्ने पाण्डेले बताए । उनले थपे, “कसैले चाहे पनि नचाहे पनि लगभग ३५ प्रतिशतभन्दा बढी प्रतिनिधि नयाँ अनुहारका छन् । युवा साथीहरु वडा, क्षेत्र, जिल्ला हुँदै क्रमिक रुपमा केन्द्रको नेतृत्व तहमा पुग्नुहुन्छ । अहिले सभापति र पदाधिकारीमा आउन नसक्नु होला तर नयाँ पुस्ताको बाहुल्य हुने देखिइसकेको छ । यो समयको आवाज हो ।”

साथै उनले ३५ जिल्लाको क्रियाशील सदस्यता छानबिन विवाद अब तीनचार जिल्लामात्र बाँकी रहेको बताए । उनले भने, “सबै जिल्लाको विवाद आज समाप्त हुन्छ । वडा अधिवेशन भइसकेका जिल्लामा भोलि पालिकाको अधिवेशन हुन्छ । हिमाली जिल्लामा दसैं अघि नै जिल्ला अधिवेशन हुन्छ । जति सुकै विवाद भनिए पनि वडामा सर्वसम्मत या निर्विरोध भएका छन् । मेरै जिल्ला गोरखाका ९४ वडामध्ये ६ वटामा निर्विरोध भयो । मेरो विचारमा पालिकाभन्दा माथि मात्र प्रतिस्पर्धा होला ।”

उनले रामचन्द्र पौडेल समूहले सक्रिय सदस्यता विवाद गरिरहन नमिल्ने पनि बताए । उनले भने, “सबैको सहमतिमै छानबिन समिति बनाएका हौं । त्यहाँ तीन वटै समूहको प्रतिनिधित्व छ । त्यसले निर्क्योल गरेको कुरालाई मानेर अघि बढ्नुको विकल्प छैन । हारजितको हिसाबकिताब गर्नुभन्दा पनि स्वस्थ लोकतान्त्रिक अभ्यास र प्रक्रियालाई हामीले सहजताका साथ लिनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot