Logo

पत्रकार धमला सम्मानित, प्रचण्डले भने–‘आज म रिल्याक्स भएको छु, सायद म पनि कलाकार हुन्थें होला !’



काठमाडौं, १५ असोज । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमला राष्ट्रिय काँठे लोक दोहोरी अवार्ड–२०७८ बाट सम्मानित भएका छन् ।

आज (शुक्रबार) राष्ट्रिय नाँचघर, काठमाडौंमा आयोजित विशेष समारोहमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धमलालाई सम्मान प्रदान गरेका हुन् । धमलासँगै बरिष्ठ लोक गायक जयनन्द लामा, कलाकार कृष्ण कँडेल पनि सम्मानित भएका हुन् । आ–आफ्नो विद्याबाट देशमा ठूलो योगदान पुर्याएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।

उक्त कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आज सम्मानित हुने व्यक्तित्वहरुलाई सम्मान गर्न पाउँदा आफू निकै हर्षित र खुशी रहेको प्रतिक्रिया दिए । उनले भने,‘ऋषि धमला, जयनन्द लामा र कृष्ण कँडेललाई पुरस्कार दिन पाउँदा म गौरवान्तित भएको छु । उहाँहरु आँफैमा बहुआयामिक प्रतिभाको धनी हो । ऋषिजीले त पत्रकारितामार्फत देशलाई विशिष्ट किसिमले योगदान पुर्याउनुभएको छ । आज तपाईँहरुलाई सम्मान गर्न पाउँदा मैले हर्ष र गौरवको महशुस गरेको छु ।’

गीत÷संगित भनेपछि आफू पनि लठ्ठ हुने गरेको उनले स्मरण गराए । उनले भने,‘सानोमा गीत, संगित र नाच्नेतिर आफूलाई लैजाने मैले सोचेको थिएँ । सायद, म राजनीतिमा नभएको म पनि कलाकार नै हुन्थें होला । कला, संगित, खेल र पत्रकारिता क्षेत्र भनेको राष्ट्रको प्रतिष्ठा बनाउने देशलाई समुन्नत बनाउने विद्या हो । म पनि यस्तै भएको भए कस्तो राम्रो हुन्थ्यो होलाजस्तो लाग्छ । तपाईँहरु सम्मानित हुँदै गर्दा अलि–अलि मलाई पनि मनमा म पनि सम्मानित हुन पाएको भए हुन्थ्योजस्तो लागेकोछ ।’

दाहालले राजनीतिक कार्यक्रम निरस हुने र यस्तो सांगितिक कार्यक्रम भने राम्रो र रसिलो हुने पनि सुनाए । उनले भने,‘राजनीतिक कार्यक्रम, त्यहाँ रस हुँदैन् । आजकाल त गालीगलौज नै हुन थालेको छ । तर आजकोजस्तो कार्यक्रम रसिलो, भावुक हुन पाउने, यसमा सहभागी हुन पाउँदा आज म रिल्याक्स भएको छु ।’


तस्विर : देवराज आचार्य 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot