Logo

कमजोर मन्त्रालय दिएको भन्दै माधव नेपाल असन्तुष्ट, पुगे बालुवाटार



काठमाडौं, २१ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल गठबन्धनको बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन् । मन्त्रिण्डलको भागबण्डा गर्दा आफ्नो पार्टीलाई कम महत्वका मन्त्रालयमात्रै दिइएको भन्दै अध्यक्ष नेपाल रुष्ट छन् ।

यही विषयमा कुरा गर्न उनी यतिवेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको एक नेताले जानकारी दिए । यसअघि नेपाल पार्टीको स्थायी कमिटी बैठकमा थिए । उक्त बैठकमा समेत नेपालले आफ्नो पार्टीलाई कम महत्वको मन्त्रालय दिएकोमा गुनासो पोखेका थि । नेकपा (एकीकृत समाजवादी) ले चार मन्त्रालय र एक राज्यमन्त्री पाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सकेसम्म आजै सरकारलाई पूर्णता दिन चाहेका छन् । यसको लागि उनले मन्त्रालयमा भागबण्डा भएअनुसार मन्त्रीहरुको नाम दिन भनिसकेका छन् । तर, माओवादी केन्द्रबाहेक अरु दुई दल नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपालले मन्त्रीको नाम दिन सकेका छैनन् ।

स्रोतकाअनुसार कांग्रेसबाट अब मन्त्री बन्ने कोटा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाबाट हो । दुवै समूहले अहिलेसम्म प्रधानमन्त्री देउवालाई मन्त्रीको नाम दिन सकेका छैनन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot