Logo

सरकारै सरकार, करै कर र खर्चिलो संघीयताको विकृत मोडल देखियो: नवनियुक्त मन्त्री श्रेष्ठ



काठमाडौं, असोज २३ । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अहिले संघीयताको मोडल विकृत ढंगले लागू भएको बताएका छन् । संघीयता भनेको जनता निकट सत्ता भए पनि सरकारै सरकार, करै कर र खर्चिलो भएकाले गलत सन्देश गएको पनि उनले स्वीकार गरे ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री श्रेष्ठले भने, “संघीयता स्वीटजरल्यान्डको कम्युन, रुसको कम्युनिटी, भारतमा ग्राम पञ्चायतको अवधारणाजस्तो कम खर्चिलो हुनुपर्थ्र्यो । तलबभत्ता, गाडी नचाहिने, कर्मचारी भए लियनमा बसेर सेवा गर्ने खालका जनप्रतिनिधि हामीले सोचेका थियौं । हामीले ७ प्रदेशको साटो ११ वटा र ७५३ वटा भन्दा कम स्थानीय सरकार बनाएर जानुपर्छ भनेका थियौं । तर अब पाइसकेको सेवा, सुविधा कटौती गर्ने कुरा भएन । तर केही खर्चिलो भए पनि जनता निकट सत्ता पुग्ने वातावरण बनाउनुपर्छ । त्यसो भयो भने संघीयताले विकास र समृद्धि पनि ल्याउँछ । सेवा प्रवाह पनि गर्छ ।

मन्त्री श्रेष्ठले थपे, “हामीले समुन्नत संघीय शासन व्यवस्थाको कुरा गरेका हौं । यहाँ त प्रशासनिक मोडलको संघीयता भयो । अहिले संघीयताको मोडललाई विकृत ढंगले लागू भएको छ । संघीयता भनेको जनता निकट सत्ता भए पनि सरकारै सरकार, करै कर र खर्चिलो भएकाले गलत सन्देश गएको छ ।”

संघीयताको कार्यान्वयन र मानव स्रोत विकास आफ्नो अहिलेको जिम्मेवारी भएको उनले बताए । उनले भने, “मैले विज्ञानप्रविधि मैत्री र सुशासनयुक्त, भ्रष्टाचारमुक्त प्रशासन बनाउने सोचेको छु । यसका लागि १८ घन्टासम्म टाउकोले टेकेर भए पनि काम गर्छु ।”

उनले प्रशासनमा राजनीतिकरण हुनु नहुने पनि बताए । उनले भने, “पेसागत हक हितका लागि आधिकारिक ट्रेड युनियनबाटै काम चलाउनपर्छ । पार्टीपिच्छे संगठन चाहिँदैन । कर्मचारीतन्त्र योग्यता र क्षमताकै आधारमा चल्नुपर्छ । संघीय निजामती ऐन पारित गरेर तदनुरुप काम गर्नुपर्छ ।”

मन्त्रिपरिषद्मा महिलाको सहभागिता उल्लेख्य नभएको, दलित र मुस्लिम प्रतिनिधित्व नभएको स्वीकार्दै उनले यसमा सुधार आवश्यक भएको बताए । उनले भने, “प्रधानमन्त्रीले गठबन्धन दलको सिफारिसमा मन्त्री नियुक्ति गर्नुभएको हो । समानुपातिक र समावेशी बनाउनुपर्ने कुरा जायज हो ।”

गैरसांसद गजेन्द्र हमाल नेपाली कांग्रेसको कोटाबाट मन्त्री भएको पनि उनले बताए । उनले भने, “प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकमै सिरियसल्ली हमाल आफ्नो पुरानो कार्यकर्ता भएको बताउनुभयो । उहाँले कांग्रेसकै भागको उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय पाउनुभएको हो । त्यसैले यसलाई अन्यत्र जोड्नु जरुरी छैन ।” file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot